प्रज्ञा प्रतिष्ठानमा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन

महाधिवेशनले वाम एकताका लागि पहल गरोस् : प्रधानमन्त्री दाहाल
असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रज्ञा प्रतिष्ठानमा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट र वामपन्थी एकताको पहलकदमीका लागि महाधिवेशनले निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले धेरै कुरा बोलेर पीडित भएको उल्लेख गर्दै पछि जन्मिएको पार्टीले ठूलो कुरा गर्न नहुने रहेछ भन्ने महसुस भएको बताउनुभयो । उहाँले राजनीतिक मुद्दामा जस्तै राष्ट्रिय मुद्दामा सबै दल एक ठाउँमा आउन सबै दललाई आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा लोकतान्त्रिक संस्थाहरु प्रभावहीन भएको बताउनुभयो । उहाँले देशभित्रैबाट लोकतन्त्र समाप्तिको खतरा बढेको भन्दै यसका लागि लोकतन्त्र बचाउन दलहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतले शुभकामना दिनुभएको छ ।

असार २० गतेसम्म चल्ने महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् । महाधिवेशनस्थल आसपासमा प्रतिनिधिहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।

एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.