सिंहदरबारमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता (भिडियो)

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिंहदरबारमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता (भिडियो)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटकै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि जोडिनु भएको थियो ।

आज सत्तारुढ दुई दलका नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबार झण्डै डेढघण्टासम्म चलेको भेटमा समसामयिक विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीलाई भेट्नुभएको विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ । शनिबार सभापति देउवा र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो । जसकारण पनि सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंका गरिएको छ तर अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि जानुभएको बताइएको छ ।

कांग्रेस सभापति देउवाले पत्नी आरजूसहित बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने प्रतिक्रिया दिनु भयो । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिनुभएका गृहमन्त्री लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिनु भएको छ ।

दलहरुबीच संक्रमणकालीन न्यायका मुद्दा टुङ्ग्यानेबारे छलफल तीव्र भैरहँदा सत्ता समीकरणको रणनीतिबारे प्रयास भैरहेको संकेत भेटवार्ताहरुले दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement