पुनः वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ : प्रधानमन्त्री दाहाल

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पुनः वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो । 

प्रधानमन्त्री दाहालले नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको बताउनु भयो । उहाँले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गर्नुभयो । 

सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग आवश्यक रहेको पनि उहाँले बताउनु भयो । अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने प्रधानमन्त्री दाहालले बताउनु भयो । 

उहाँले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताउनु भयो । ‘जनतालाई यहाँ केही छैन, केही भएन भनेर प्रशिक्षित गर्ने, त्यस खालको सन्देश दिन खोजिएको छ, त्यसलाई रोक्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढी नै सकेका छौँ । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले कम्युनिस्ट र सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भई नकारात्मक भाष्य चिर्न लाग्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.