उच्चशिक्षा हासिल गरेका विद्यार्थीलाई शिक्षण इन्टर्नसिपमा खटाउने सरकारको तयारी

विद्यालय तहमा देखिएको विषयगत शिक्षक अभाव पूर्ति गर्ने लक्ष्य
पुस २२, २०८१ |नारायण किलम्बू
उच्चशिक्षा हासिल गरेका विद्यार्थीलाई शिक्षण इन्टर्नसिपमा खटाउने सरकारको तयारी

काठमाडौं । सरकारले उच्चशिक्षा हासिल गरेका विद्यार्थीलाई शिक्षण इन्टर्नसिपमा खटाउने तयारी गरेको छ । विद्यालय तहमा देखिएको विषयगत शिक्षक अभाव पूर्ति गर्ने गरी विद्यार्थीलाई शिक्षण इन्टर्नसिपमा पठाउन लागिएको हो । यसका लागि प्रधानमन्त्री कार्यालयले निर्देशिका तयार पारिररहेको छ ।

सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव हुँदा विद्यार्थीको शिक्षण सिकाई, गुणस्तर र समग्र नतिजामै प्रभाव परेको छ । विद्यालय शिक्षा सुधारका लागि शिक्षक अभाव भएका विद्यालयमा सरकारले उच्चशिक्षा हासिल गरेका विद्यार्थीलाई इन्टर्नसिपमा खटाउने तयारी गरेको हो । यसका लागि प्रधानमन्त्री कार्यालय अहिले इन्टर्नसिपसम्बन्धी निर्देशिका बनाउने काममा लागेको छ । निर्देशिका जारी गरी सबै विद्यार्थीलाई ४५ दिन देखि ३ महिनासम्म सिक्षण सिकाइमा परिचालित गर्ने सरकारको तयारी छ ।

शिक्षा मन्त्रालयको शिक्षक दरबन्दी मिलान प्रतिवेदन अनुसार देशभरका सामुदायिक विद्यालयमा अहिले पनि ५७ हजार शिक्षक अपुग छ । त्यसमध्ये माध्यामिक तहमा २५ हजार शिक्षक अभाव छ । केही वर्ष यता शिक्षक सेवा आयोगले थोरै भए पनि खुला विज्ञापन गरि शिक्षक नियुक्ति नगरेको होइन तर पनि पर्याप्त नहुँदा शिक्षक अभाव अझै छ ।

अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभावकै कारण एसईईमा धेरै विद्यार्थी फेल हुने गरेपछि सरकारले विद्यार्थीलाई इन्टर्नसिपमा पठाउन लागेको हो । यसबाट केही हदसम्म भए पनि विद्यार्थीको शिक्षण सिकाईमा टेवा पुग्ने अपेक्षा सरकारको छ ।

शिक्षक तथा विज्ञहरुले भने उच्चशिक्षा हासिल गर्दैमा विद्यार्थीमा पढाउने सीप नहुने भन्दै यसबाट विद्यालयमा झन् अप्ठेरो स्थिति सिर्जना हुने बताएका छन् । इन्टर्नसिप दीर्घकालीन समाधान नभएकाले यसको सट्टा नयाँ क्षमतावान शिक्षक नै नियुक्तिमा ध्यानदिनुपर्ने श्री पद्‍म स्कुलका प्रधानाध्यापक राम हाडाको भनाइ छ ।

त्यसो त सरकारले केही वर्षदेखि स्वयंसेवक वा इन्टर्नसिपका रुपमा विद्यार्थी परिचालित गराउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन् । विद्यालय शिक्षा सुधार गर्ने हो भने कार्यरत शिक्षकलाई पेशाप्रति इमान्दार बनाइ विद्यार्थी केन्द्रित शिक्षण सिकाइमा जोड दिन र नयाँ दरबन्दीको व्यवस्था गर्न पनि उतिकै आवश्यक छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement