एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्‍यौं : माधव नेपाल

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्‍यौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचनमा उहाँले एमालेबाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताउनुभएको हो । उहाँले एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताउनुभयो ।

उहाँले आफूहरुले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताउनुभयो । उहाँले एमालेबाट विद्रोह नगरेको भए आफूहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताउनुभयो । उहाँले आफूहरुले आत्मसर्मपण नगरेको दाबी पनि गर्नुभयो ।

‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौं हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्‍यौं । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गर्‍यौं । अत्यन्तै सही काम गर्‍यौं । कम्युनिस्ट आन्दोलनलाई जोगायौं,’ उहाँले भन्नुभयो, ‘गलत प्रवृत्तिका विरुद्धमा जुध्यौं र आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्न नयाँ पार्टी निर्माण गर्‍यौं । नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍यौं । नभए हामी हराइसकेका हुन्थ्यौं । हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरुलाई स्वीकार गरेनौं । हामीले समर्पण गरेनौं । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ ।’

अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको बताउनुभयो । उहाँले संसद्‌मा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताउनुभयो । आगमी दिनमा पार्टीको सिट संख्या बढ्ने उहाँको भनाइ छ । ‘कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौं । सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौं । हाम्रो भूमिकालाई स्थापित गरेका छौं,’ उहाँले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.