काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गरेरै छोड्ने बताउनुभएको छ । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताउनु भयो । उहाँले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेन्डा लागु गरेर छोड्ने बताउनु भयो । उहाँले शिक्षामा दलीय राजनीतिकरण हुन नहुने अन्तिम साससम्म नछोड्ने एजेन्डा भएको बताउनु भयो । उहाँले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुवात भएको उल्लेख गर्नुभयो ।
'शिक्षा क्षेत्रमा राजनीतिक भागबन्डाको आधारमा नभई मेरिडको आधारमा पठाउँदा रिजल्ड के आउँछ भनेर देख्न थालिएको छ,' उहाँले भन्नुभयो, 'पूर्वाअञ्चल विश्वविद्यालयमा १६ वटा फरक कार्यविधिमा काम गरिरहनुभएको छ । हामीले शिक्षक मिलान दरबन्दीका लागि अध्ययन सुरु गरेका छौं । मल्टिपल डाटावेश छ । एकरुपता छैन । शिक्षकको आइडी पनि छैन । शिक्षामा दलीय राजनीतीकरण हुनुहुँदैन भनेर अन्तिम साससम्म नछाड्ने एजेन्डा हो । तर अहिलेसम्म भएको यो विषयको कार्यप्रगति चित्तबुझ्दो छैन ।'
उहाँले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको तथ्याङ्क माग गरे पनि प्राप्त नभएको बताउनु भयो । अहिलेसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी उहाँले गर्नुभयो । सय दिनको उपलब्धिमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गर्नुभयो ।
शिक्षामन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य र भिषीहरुको नियुक्तिमा काम गरेको दाबी गर्नुभयो । उहाँले सरकारले शिक्षाका उच्च अधिकारी नियुक्ति गर्दा राजनीतिक भागबन्डाभन्दा पनि योग्यता, उपयुक्तता हेरेर गर्न थालिएको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा राजनीतिक भागबन्डाको आधारमा नभइ मेरिटको आधारमा पठाउने पद्धति विकास गरिएको दाबी गर्नुभयो । सरकारले शिक्षक मिलान दरबन्दीको लागि अध्ययन सुरु गरेको जानकारी दिनुभयो ।