काठमाडौं । तराईमा हरेक हिउँदमामा बाक्लो हुस्सु लागेर शीतलहर चल्छ । शीतलहर सुरु भएपछि चोकचोकमा बाल्न दाउरा दिने र केही थान कम्बल बाँडेर स्थानीय सरकार आफ्नो जिम्मेदारी पूरा भएको ठान्छ । जबकि नागरिकको सबैभन्दा नजिकको सरकारले त शीतलहर र हुस्सुको सम्भावित विपतको आँकलन गरी समयमै गरिब तथा विपन्न घरपरिवार पहिचान गरी आपतकालीन कोष बनाउने र प्रतिकार्यका आफूलाई तयारी अवस्थामा राख्नुपर्थ्यो । बेला छँदै प्रकृतिको यो चक्रसँग जुध्न प्रतिकार्यको योजना बनाउनुपर्नेमा तीनै तहका सरकार यसमा चुकेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका ७ स्थित तात्रीबारीमा १५ घरपरिवार विपन्न नागरिकको बसोबास छ । शीतलहरले छोप्नै आँट्यो, कसैको घरमा पनि चिसो छल्ने न्यानो ओढ्ने ओछ्याउने छैन । यो सिरहाका विपन्न बस्तीका नागरिकको साझा समस्या हो । "जाडोमा धेरै समस्या छ । न कम्बल छ, न लत्ताकपडा, न खानाको बन्दोबस्त । मेरो एउटामात्रै कम्लब छ, सबै त्यसैमा सुत्छौं । नेताहरू भन्छन् मात्रै, तर केही गरिदिँदैनन्," मिर्चैयाकी शोभा सदा भन्नुहुन्छ ।
मिर्चैयाकै प्रमिला सदा पनि शीतलहरका बेला सरकारले नहेरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, "ओढे, ओछ्याउने छैन, अनि ओछ्याए, ओढ्ने छैन, जसोतसो बाँचेका छौँ । नेताहरूले कसैले हेरेनन् ।"
यो हिउँदमा केही ढिलो गरी तराईमा बाक्लो हुस्सु लाग्न थालेको छ । अस्तिसम्म साँझ बिहानमात्रै चिसो महसुस गर्ने तराईका नागरिक हिजोदेखि बाक्लिएको हुस्सुले अब शीतलहरको सामना गर्नुपर्ने हो कि भन्ने चिन्तामा छन् । मौसम विभागले यो हिउँदमा औसतभन्दा बढी सुक्खा र चिसो हुने प्रक्षपण गरी सचेत गराइसकेको अवस्थामा शीतलहर र चिसोको सामना गर्ने योजना समयमै बनिसक्नुपर्ने हो ।
तर स्थानीय सरकारले अतिविपन्न, गरिब, पिछडावर्ग र दलितलगायतको वास्तै नगरेको नागरिकको गुनासो छ । "न हाम्रो नाम टिप्न कोही आयो ? न केही गर्यो ? नगरपालिकाले हामी गरिबलाई केही दिएन । त्रिपाल माग्दा पनि मेयरले दिएनन् । गाउँका अरुलाई दिए, तर हामी दलितलाई दिएनन्," रौतहटकी सञ्झादेवी मालीले गुनासो पोख्नुभयो ।
चिसो र शीतलहरले रोजगारी गुम्छ, बालीनाली नोक्सानी हुन्छ, तातो ओढ्ने ओछ्याउने नपाएर केहीको ज्यानै जान्छ । तर स्थानीय सरकार भने केही थान कम्बल र केही दाउराका टुक्रा बाँडेर, विपन्न जनताको पीडा बिर्साउन खोजिरहेका छन् । दीर्घकालीन समाधानका लागि कुनै ठोस योजना छैन ।
नागरिकलाई शीतलहरबाट जोगाउन स्थानीय सरकार के गर्छ भन्ने दृष्टान्त खोज्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गरेको काम हरे पुग्छ । तीन दिनदेखि बाक्लो हुस्सुले जनजीवन प्रभावित भएपछि त्यहाँ सार्वजनिक ठाउामा आगो ताप्न दाउरा वितरण गरिएको छ ।