कांग्रेसको पुरानै भद्रगोल, आधा कार्यकाल सकिँदा पदाधिकारी मनोनयन भएन

भद्रगोल कांग्रेस : पार्टी गतिहीन, नेता-कार्यकर्तामा निराशा
असार ३, २०८१ |प्रकाश बम
कांग्रेसको पुरानै भद्रगोल, आधा कार्यकाल सकिँदा पदाधिकारी मनोनयन भएन

काठमाडौं । संघीय संसद्‌को प्रमुख दल नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यतामा आफूलाई सबैभन्दा अब्बल दाबी गर्छ । तर अहिले पार्टीको कार्यशैली सुस्त मात्रै होइन, विधिसम्मतसमेत देखिन्न । महाधिवेशन सम्पन्न भएर आधा कार्याकाल बितिसक्दा पनि कोषाध्यक्ष नियुक्तिदेखि विभागको पूर्णता र भ्रातृ संस्थाको निर्वाचनलगायत काम अलपत्र छन् ।

सभापति शेरबहादुर देउवा उदासीन बन्दा ६ महिनाभित्र गरिसक्नुपर्ने काम साढे दुई वर्षदेखि अनिश्चित छ भने त्यसको असरले पार्टी गतिहीन र नेता कार्यकर्तामा निराशा बढ्दो छ।

कांग्रेसको चौधौं महाधिवेशन २०७८ मंसिर २४ मा भएको थियो । महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिए पनि पदाधिकारी र केन्द्रीय समितिमा थुप्रै नयाँ अनुहार आए । तर युवा र नयाँ अनुहारको प्रवेशपछि पनि पार्टी गतिशील बनेन ।

नेतृत्वको आधा कार्यकाल सकिँदासमेत पार्टीको आर्थिक जिम्मेवारी लिने कोषाध्यक्षको मनोनयन अझै हुन सकेको छैन । सभापति देउवा र महामन्त्री गगन थापाको हस्ताक्षरबाट पार्टीको खर्च निकासा हुँदै आएको छ । हिसाब-किताबको काम लेखा समितिबाट चलाइएको छ ।

विधानको व्यवस्था र आर्थिक सुशासनमा प्रश्न उठ्न नदिन पनि कांग्रेसले ६ महिनाभित्रै कोषाध्यक्ष मनोनयन गर्नुपर्ने हो । तर गुटगत स्वार्थ नमिल्दा साढे दुई वर्षदेखि कसलाई मनोनयन गर्ने भन्ने रस्साकस्सी चलिरहेको छ ।

विभागलाई पूर्णता, भ्रातृ संस्थालाई सक्रिय र प्रशिक्षण प्रतिष्ठानलाई चलायमान बनाउन पनि नेतृत्व चुकेको छ । एक सय ६८ सदस्यीय केन्द्रीय समितिमा दुईजना र ४५ सदस्यीय कार्यसम्पादन समितिमा आठजना सदस्य मनोनीत गर्न बाँकी छ ।

नेतृत्व गुटगत स्वार्थभन्दा माथि उठ्न नसक्दा भातृ संस्थाहरु केही तदर्थकै भरमा र अधिकांश नेतृत्वविहीन छन् । पार्टीका कार्यक्रम र नीतिलाई जनस्तरसम्म पुर्याउने प्रशिक्षण प्रतिष्ठानसमेत सक्रिय छैन । पार्टीका ७० मध्ये अहिलेसम्म १८ विभाग मात्र गठन भएका छन् । गठन भएका पनि अधुरा छन् । ‘हामीले पटकपटक सभापतिको ध्यानाकर्षण गराएका छौं । तर सभापतिले सुन्नुभएको छैन,’ कांग्रेसका सह-महामन्त्री जीवन परियारले भन्नुभयो ।

त्यसो त नीति र विधिमा बहुआयामिक दृष्टिबाट छलफल भएको महासमिति बैठकबाट पारित प्रतिवेदनहरु पनि चार महिनादेखि अलपत्र छन् । संसदीय क्षेत्र हेर्ने उपनेता चयन र संसदीय कार्यसमितिको निर्वाचन हुन पनि बाँकी नै छ । यस्तो देखिन्छ, लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले पनि तदर्थवादमै चलेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement