सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिद्वारा कार्यविधि पारित

कार्यादेशमा उल्लेखित सहकारी र रकम लगानी भएका संस्थाको छानबिन गरी सरकारलाई सुझाव दिने
असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिद्वारा कार्यविधि पारित

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित स‌ंसदीय विशेष समितिले आफ्नो कार्यविधि पास गरेको छ । समितिको आज बसेको बैठकले कार्यविधि पारित गरेको हो ।

समितिको कार्यादेश बनाएको कार्यदलसँग छलफल गरेपछि कार्यविधि पारित गरिएको हो । अब यो समितिले कार्यादेशमा उल्लेखित सहकारी र रकम लगानी भएका संस्थाको छानबिन गरी सरकारलाई सुझाव दिनेछ ।

यसअघि कार्यादेशमै लेखिएका सहकारीको मात्र छानबिन गर्ने कि देशभरका सबै सहकारीको भन्नेमा समिति अन्योलमा परेको थियो । अब भने यो समितिले कार्यादेशमा उल्लेखित सहकारी र ती सहकारीसँग जोडिएको विषयको मात्र छानबिन गर्ने स्पष्ट भएको छ । मंगलबार बस्ने समितिको बैठकले सम्बन्धित मन्त्रालय र विभागका प्रतिनिधिहरुलाई बोलाएर छानबिनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको सभापति सूर्य थापाले जनाउनुभयो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै नेपाली कांग्रेसले संसदीय समिति गठन गरेर छानबिनको माग गर्दै संसद् अवरुद्ध गरेपछि समिति गठन गरिएको हो । जेठ १५ गते गठित समितिलाई तीन महिनाको कार्यावधि दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.