प्रधानमन्त्रीसँग सीपीपीसीसीका उपाध्यक्षको भेट

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीसँग सीपीपीसीसीका उपाध्यक्षको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल-चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो ।

दाहालले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । चीन र नेपालबीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने गर्ने बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो ।

सो अवसरमा सीपीपीसीसीका उपाध्यक्ष बार्टरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाउनुभयो ।

भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी हुनुहुन्थ्यो भने चिनियाँ तर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी हुनुहुन्थ्यो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.