संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै आइतबार उहाँले यस्तो जनाउनुभएको हो ।

संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्त्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको अध्यक्ष केसीको भनाइ थियो । उहाँले शासकहरुको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गर्नुभयो । अध्यक्ष केसीले संघीयताको सुदृढीकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताउनुभयो ।

‘संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको छ । संघीयताले मुलुकमाथि अनाआवश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगिरहेको छ,’ उहाँले भन्नुभयो, ‘नेपालले संघीयताको सुदृढिकरणको नाममा अमेरिकी परियोजना यूएसएडबाट आर्थिक सहयोग लिएर संघीयताको कार्यान्वयनको नाममा विश्व बैंकबाट ऋण काँढेर कति दिन हामीले संघीयताको भारी नेपाली जनतालाई बोकाउने हो ?’

अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.