छानबिन गर्न बनेको संसदीय समिति सहकारी ठगलाई बचाउन बनेको हो : चित्रबहादुर केसी

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
छानबिन गर्न बनेको संसदीय समिति सहकारी ठगलाई बचाउन बनेको हो : चित्रबहादुर केसी

काठमाडौं । प्रतिनिधिसभा सांसद एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताउनुभएको छ ।

काठमाडौंमा सोमबार सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उहाँले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरुबाटै लुटिएको दाबी गर्नुभयो । ठूलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम राज्य सत्तामा बस्नेहरुले नदिने उहाँको दाबी छ ।

नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको अध्यक्ष बताउनुभयो । उहाँले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाउनुभयो ।

‘खाइ-नखाइ भोलि बुढेसकाललाई चाहिएला, बिरामी हुँदा चाहिएला, छोराछोरी पढाउन चाहएिला भनेर सहकारीमा जम्मा गरेको रकम आज राज्य सत्तामा बस्नेहरुले नै लुटेका छन् । तपाईंहरुसँग आएर जति पनि मीठा कुरा गरे पनि आन्दोलन बेगर यिनीहरु डराउनेवाला छैनन् । यिनीहरु पल्किसकेका छन्,’ सांसद केसीले भन्नुभयो, ‘नेपाली जनताको पसिना राज्य सत्तामा बस्नेहरुले, राज्य सत्ताको आडमा नेपाली जनताको पसिनामा पौडी खेल्न पाइँदैन, नेपाली जनताले एक-एक हिसाब गर्दछन् भनेर सदनमा बन्दै आएको छु । अब त सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको छ । जसले कारबाही गर्ने हो, त्यही ठाउँमा राखेपछि यि राजनीतिक पार्टीहरुले के गर्छन् । यो समिति सहकारी ठगलाई बचाउन बनेको समिति हो ।’

उहाँले अहिलेका राजनीतिक दलहरुले देश र जनताको लागि केही काम गर्न नसक्ने दाबी पनि गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement