अर्थमन्त्रीले केही व्यापारीको 'इन्ट्रेस्ट'मा बजेट बनाए : अमरेशकुमार सिंह

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्रीले केही व्यापारीको 'इन्ट्रेस्ट'मा बजेट बनाए : अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरुको 'इन्ट्रेस्ट'मा बनाएको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्रका ३२ जना सांसदलाई लक्षित गरेको बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरुको 'इन्ट्रेस्ट'मा बनाएको उहाँले दाबी गर्नुभएको हो ।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै सांसद सिंहले माओवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको जिकिर पनि गर्नुभयो । उहाँले बजेट जसरी विनियोजन गरे पनि मन्त्रीहरुलाई कानुन नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गर्नुभयो ।

'नियम, कानुन मन्त्रीलाई लाग्दैन । उहाँले जति बजेट आफ्नो क्षेत्रमा लगे पनि, जे गरे पनि, जति घुस खाए पनि क्षम्य छ,' सांसद सिंहले भन्नुभयो, 'यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीको इन्ट्रेस्टमा । यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ । यो २७५ जनाको यो बजेट बन्छ भन्नु दिवा स्वप्न हो । किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ । हामी जस्ता निर्धा सांसदलाई उहाँहरुले देख्नु हुन्न ।’

सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरुलाई बेवास्ता गरेको गुनासो पनि गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.