बजेट स्थानीय तह केन्द्रित हुन सकेन : सांसद खतिवडा

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजेट स्थानीय तह केन्द्रित हुन सकेन : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले बनाउनुपर्ने स्थानीय तह भए पनि बजेटमा संघ केन्द्रित गरिएको बताउनु भयो । प्रदेश र स्थानीय तहलाई दरो बनाउने कुरा बजेटमा उल्लेख हुन नसकेको सांसद खतिवडाको भनाइ छ ।

उहाँले भन्नुभयो, 'हामीले अहिले बनाउनुपर्ने स्थानीय तह हो । तर हामी अहिले स्थानीय तहभन्दा संघतिर केन्द्रित भएको बजेटमा उल्लेख गरिएको छ । प्रदेश र स्थानीय तहलाई दरो बनाउने कुराहरु अहिले कहीँ उल्लेख गरिएको छैन ।'

उहाँले प्रशासनमा प्रशासकीय प्रमुखहरु एक महिनामा ४ पटकसम्म परिवर्तन हुने पद्धति रहेकोभन्दै यसलाई अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विगतकै पद्धतिको निरन्तरता हुने हुने हो भने संघीयता र अहिले बनाएका कानुनको अर्थ नहुने बताउनु भयो । सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरु स्थापित गर्नुपर्ने सांसद खतिवडाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.