सल्यान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सरकार सही बाटोमा नहिडेको बताउनुभएको छ । मंगलबार सल्यानको खलंगामा पत्रकार सम्मेलनमा बोल्दै साउदले चारैतिर गल्ती गरेका मान्छेहरुलाई सरकारले संरक्षण गरेर कानुनी राज्यको खिल्ली उडाएको बताउनुभएको हो ।
सरकारले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाएर आफैँ सकिने बाटोमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,' 'नयाँ होस् वा पुरानो जुनसुकै भए पनि गल्ती गर्ने कानुनी दायरामा आउनुपर्छ ।'
कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा सशक्त ढंगले लागेको बताउँदै साउदले व्यक्तिविरुद्ध नभइ समग्र सहकारी पीडितको न्यायको पक्षमा आवाज उठाएको जानकारी दिनुभयो । 'जसको बारेमा आरोप लागेको छ उसैको बारेमा छानबिन गरौंभन्दा सरकार गम्भीर नबनेर विषयान्तर गरी अटेरीपना देखाएको छ,' उहाँले भन्नुभयो ।
कांग्रेस पार्टीमाथि विभिन्न तथ्यहीन आरोप लगाइरहेको भन्दै सरकारसँग प्रमाण भए छानबिन गर्न चुनौती दिनुभयो । नेता साउदले सरकारले जसरी पनि सहकारी पीडितलाई न्याय दिनु पर्ने बताउनुभयो ।
यस्तै पूर्वमन्त्री साउदले आफू परराष्ट्रमन्त्री हुँदा जोशीको रिहाइको लागि कतारसँग कूटनीतिक प्रक्रिया अगाडि बढाएको भन्दै अहिलेको सरकार यस विषयमा गम्भीर नभएको आरोप लगाउनुभयो ।