सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छ : डा. तोसिमा कार्की

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छ : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले स्वास्थ्य संस्था तथा अस्पतासम्बन्धी मापदण्ड कार्यान्वयन नभएकाले पनि सो ऐन ल्याउन सरकारले ढिलाइ गर्न नहुने बताउनुभएको हो ।

सांसद कार्कीले विपन्न नागरिकका लागि १० प्रतिशत शैय्या निःशुल्क उपलब्ध गराउने मापदण्ड समेत अस्पतालहरुले पालना नगरेको भन्दै ती अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारले ऐनमा नै स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार अस्पताल, निजी अस्पताल, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सञ्चालित अस्पतालहरुलाई विपन्न नागरिकको पक्षका काम गराउन पनि सरकारले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

'स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० 'घ'मा स्वास्थ्य संस्था तथा अस्पतालहरुले अनिवार्य रुपमा विपन्न नागरिकको लागि १० प्रतिशत शैय्या छुट्टयाइ नागरिकलाई निःशुल्क सेवा दिनुपर्छ भनिएको छ । तर यो लागु भएको छैन,' सांसद कार्कीले भन्नुभयो, 'यसको नियमन पाटो झन फितलो छ । १० प्रतिशत सेवा नदिँदा कारबाही के हुने भन्ने स्पष्ट व्यवस्था छैन । अनौपचारिक अनुगमनमा जाँदाखेरी मापदण्ड मन्त्रालयको निर्देशनमा मात्र सिमित भएको देखिन्छ ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.