काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उहाँले दुई मुलुकबीचको थाँती रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको कुराकानी संसद्लाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गर्नुभएको हो ।
‘सभामुखज्यूबाट आज रुलिङ हुनुपर्छ– प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद् हो ।’ उहाँले भन्नु भयो, ‘भारतीय प्रधानमन्त्रीसँग के के विषयमा दुई पक्षीय हितका, बहुपक्षीय हितका, सार्कका विषयमा, नेपाल र भारतका बीचमा बाँकी रहेका विभिन्न समस्याहरूलाई समाधान गर्ने विषयमा सम्माननीय प्रधानमन्त्रीजीको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा कुराकानी भयो ? उहाँले यो संसद्लाई सम्मान गर्ने हो भने आजै आएर यो संसदमा आफ्नो भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रूपमा जानकारी दिनु पर्दथ्यो ।’
उहाँले संसद्को विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैँले अग्रसरता लिनुपर्ने पनि बताउनु भयो । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौंमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताउनु भयो ।
सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि ज्युँका त्युँ रहे पनि प्रधानमन्त्री दाहालले कुनै समस्या नभए जसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाउनु भयो ।