भारत भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

जेष्ठ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारत भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन हिजो दिउँसो नयाँदिल्ली पुग्नुभएको थियो ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख, राष्ट्रिय सभामा अध्यक्ष, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले स्वागत गर्नुभएको थियो ।

स्वदेश फर्कनुअघि नयाँदिल्लीमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दुई देशबीच विगतमा भएका सहमति तथा समझदारी कार्यान्वयन गर्न भारत सकारात्मक रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीसँग हिजो भएको ‘वान टु वान’ भेटवार्तामा आफूले अघिल्लो भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनलाई तीव्रता दिने विषय उठाएको र मोदी त्यसमा सकारात्मक भएको बताउनुभयो ।

यस्तै आफूले दुई देशीय संयन्त्र सक्रिय बनाउनुपर्ने, सीमा तथा व्यापार सम्झौतालगायत विषय वार्ता र संवादबाट समाधान गर्न सकिने कुरा उठाएको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।

यस्तै, गत वर्ष आफ्नो भ्रमणका भएको सहमतिअनुसार पञ्चेश्वर परियोजनाका बाँकी काम टुंगो लगाएर अघि बढ्ने कुरा भएको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।

नेपालका कृषि उत्पादनलाई भारतीय बजारमा सहज प्रवेशको पनि विषय पनि आफूले उठाएको उहाँको भनाइ छ । वार्ताका क्रममा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । जवाफमा मोदीले समय मिलाएर नेपाल भ्रमण गर्ने बताउनुभएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सचिवालयले जनाएको छ ।

दाहालले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र नवनियुक्तमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.