धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एउटा पक्षको अवरोध र बहिष्कारका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । उहाँको पक्षमा २८ मत पर्यो । एमालेका ११, माओवादीका १०, समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र १ स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्।
नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका ५ जना प्रदेश सभा सदस्यले भने नाराबाजी गर्दै बैठक बहिष्कार गरे । गैर संवैधानिक तवरले सोडारीलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कांग्रेस र नाउपाको एक पक्षले प्रदेश सभा बहिष्कार गरेको हो । नागरिक उन्मुक्तिका २ जना प्रदेश सभा सदस्य सरकारमा छन् भने ५ जना सरकारविरुद्ध उभिएका छन् ।
यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेकोले सदन अवरुद्ध गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बताउनुभयो । प्रदेश प्रमुखले आह्वान गरे बमोजिम १६८ को उपधारा (२) बमोजिम दाबी पेस गरिएको भए पनि प्रदेश प्रमुखले पार्टीगत पूर्वाग्रह राखेर त्यसलाई अस्वीकृत गरेको कांग्रेस र नाउपाको ठहर छ ।