काठमाडौं । नेपालमा फुटबल, क्रिकेट, भलिबलजस्ता समूहमा खेलिने खेलमा दर्शकको क्रेज कति छ भनिरहनु पर्दैन तर पूर्वाधारमा हामी कहाँ छौँ भन्नका लागि खेल हेर्ने टिकट नपाएर निराश भएका समर्थकको अनुहार हेरे पुग्छ । बुधबार सम्पन्न साफ महिला च्याम्पियनसिपमा दशरथ रंगशालाको सीमित सिट सङ्ख्याका कारण धेरै दर्शक प्रत्यक्ष खेल हेर्नबाट वञ्चित भए । अखिल नेपाल फुटबल संघलाई आर्थिकरुपमा पनि घाटा भयो । फुटबल मात्र होइन, क्रिकेट र भलिबलका अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा पनि अवस्था यस्तै छ ।
नेपाल, पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्नबाट चुक्यो । तर नेपाली खेलकुदमा भने कीर्तिमान कायम भयो । नेपाल र बंगलादेशबीचको फाइनल खेल कान्तिपुर म्याक्स एचडीको युट्युब च्यानलमा मात्र १० लाखभन्दा बढीले लाइभ स्ट्रिमिङ हेरे । जुन नेपाली खेलकुदको अहिलेसम्मको कीर्तिमानी सङ्ख्या हो ।
नेपाल र भारतबीचको सेमिफाइनल ५ लाख २६ हजारले हेरेर भलिबलको कीर्तिमान तोडिएको थियो । यसअघि गत साउनमा काडमाडौंमा नै काभा महिला भलिबल नेशन्स लिगमा नेपाल र भारतको फाइनल ४ लाख ७ हजारले हेरेका थिए । टेलिभिजनमा हेर्ने दर्शकको सङ्ख्या यहाँ उल्लेख गरिएको छैन । टेलिभिजन र डिजिटल प्यालटर्फम बाहेक प्रत्यक्ष रंगशाला, कभर्ड हल र मैदानमै गएर खेल हेर्ने दर्शकको पनि कमी छैन- छ त केबल पूर्वाधारको ।
साफ महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको नेपाल र बंगलादेशबीचको फाइनल अघिका दृश्य हुन् यी । दशरथ रंगशालाभित्रै पुगेर खेलाडी साथ दिन चाहन्छन् समर्थक । टिकट बिक्री सुरु हुनु तीन घण्टा अघिदेखि नै लाइन बसे । तर सबैले टिकट पाएनन् । कारण दशरथ रंगशालाको दर्शक क्षमता । १५ हजार क्षमताको रंगशालाले नेपाली समर्थकको भार थेग्नै सक्दैन । एन्फाले साधारणतर्फ ११ हजार र भीआईपीतर्फ एक हजार मात्र टिकट बिक्री गरेको थियो । कतिपय विकसित र विश्वकप खेलिसकेका देशहरूमा समेत महिला फुटबल हेर्न आइदिनुपर्यो भनेर समर्थकलाई आग्रह गरिन्छ । तर नेपालमा रंगशाला नभएकै कारण समर्थक खेल हेर्न पाउँदैनन् ।
टिकट र पास गरेर १५ हजार ७ सयले रंगशाला पुगेरै प्रत्यक्ष फाइनल खेल हेरे । काठमाडौंको टुंडिखेललगायत देशका विभिन्न स्थानमा खेल हेर्न हजारौँ समर्थक उपस्थित थिए । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भलिबल आयोजना हुँदा होस या कीर्तिपुरस्थित टियु मैदानमा क्रिकेट प्रतियोगिता हुँदा नै किन नहोस् दर्शक खचाखच हुन्छन् । तर पूर्वाधार हेर्ने हो भने टिठलाग्दो छ । दोष कसको त ? दर्शककै त होला, ‘किन जानु पर्यो खेल हेर्न ?’ हाम्रो नेतृत्वले दिने जवाफ यही त होला ।