दलहरुमा वैचारिक विचलन, ३२ सिटे माओवादीलाई सत्ता सुम्पन कांग्रेस-एमालेको ‘हानथाप’

वैशाख ९, २०८१ |दीपक आचार्य|सुशीला पाठक
दलहरुमा वैचारिक विचलन, ३२ सिटे माओवादीलाई सत्ता सुम्पन कांग्रेस-एमालेको ‘हानथाप’

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादी केन्द्रको विचार र नीति नै फरक छ । त्यसैले वैचारिक रुपमा एक-अर्कालाई आलोचना गर्न तछाडमछाड नै चल्छ । तर जब सत्ताको कुरा आउँछ- कांग्रेस र एमालेले माओवादीलाई काँधमा बोकेर हिँड्न हानथाप गर्छन् ।

गणतन्त्र स्थापनापछिको अधिंकाश सत्ता यसरी नै चलेको छ । २०७९ को चुनावपछिका १५ महिनामा पनि ३२ सिटको माओवादीलाई संसद्‌को पहिलो दल कांग्रेस र दोस्रो एमालेले सत्ताको नेतृत्व सुम्पन हानथाप गरेका छन् । आखिर कांग्रेस र एमालेले मा‌ओवादीलाई स्वीकार पनि नगर्ने र छाड्न पनि नसक्ने स्थिति किन बन्यो त ?

माओवादी केन्द्र प्रतिनिधिसभामा जम्मा ३२ सिटसहित तेस्रो दलको हैसियतमा छ । तर पछिल्लो १५ महिना देखि सरकारको नेतृत्व उसकै छ । संसद्‌को पहिलो दल कांग्रेस र दोस्रो एमालेले पालैपालो समर्थन गरिरहेका छन् । आफूसँगको गठबन्धन तोडेर एमालेसँग जोडिने समयमा माओवादीले कांग्रेसले जनयुद्धलाई अपमान गरेको, सरकारमा असहयोग गरेको आरोप लगाएको थियो ।

अहिले एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा बाम एकतालाई अस्वीकार गरिएको छ । जबकि कांग्रेससँगको गठबन्धन तोड्दा सहकार्य बढाउँदै एकतासम्म पुग्ने भनिएको थियो ।

अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओली सत्ताका लागि एक-अर्कामा नभै नहुने अवस्थामा छन् । तर तिनै ओली सार्वजनिक रुपमा निरन्तर वामएकताको सम्भावनालाई अस्वीकार गरिरहेका छन् ।

सत्ता साझेदार भएकै बेला फागुनमा भएको महासमिति बैठकमा कांग्रेसले २०५२ पछि चालिएको हिंसात्मक द्वन्द्व गलत भएको, थुप्रै भौतिक संरचना ध्वस्त बनाएको जस्ता आरोप लगायो ।

तर उसका लागि पनि माओवादीसँगको सत्ता साझेदारी अनिवार्य बन्यो । कांग्रेसले उठाएको यो विषयले गठबन्धनमा हलचल नै ल्याएको थियो । तर आफ्नो कित्ताबाट बाहिरिँदा कांग्रेसमा फेरि छटपटी देखियो । सत्तामै बसिरहन चाहने माओवादी पनि आफूमाथिको वैचारिक आरोपलाई सामान्य देख्छ ।

यो सबै दलहरुमा देखिएको वैचारिक विचलनको परिणाम हो भन्दा फरक पर्दैन । सिद्धान्तभन्दा पनि सत्ता हाबी हुँदा आफ्नो स्वार्थअनुकूल व्याख्या गर्ने प्रवृत्ति देखिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउनुहुन्छ ।

दस्ताबेजमा कटु आलोचना गर्ने तर सत्ताका लागि तेस्रो शक्ति माओवादीलाई शिरमा राखेर हिँड्न प्रमुख दल कांग्रेस र एमालेको कार्यशैली राजनीतिक इमानदारिताविपरीत हो । नि:सर्त सहयात्री स्वीकारेर सत्तामा रमाउने अनि भाषणबाजीमा गालीगलौज गर्नुले जनमतको समेत अवमूल्यन गरेको सहजै देखिन्छ ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।

Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।