जेन-जी आन्दोलनपछि देश चलाउन अब कस्तो राजनीतिक दल चाहिन्छ ?

कार्तिक ७, २०८२ |कृपाल गौतम
जेन-जी आन्दोलनपछि देश चलाउन अब कस्तो राजनीतिक दल चाहिन्छ ?

काठमाडौं । जेन-जी आन्दोलनपछि देश चलाउन कस्तो राजनीतिक दल चाहिन्छ भन्ने बहस सुरू भएको छ । 

लामो समयदेखि शासन चलाउँदै आएका राजनीतिक दलहरूले जनताका आकांक्षा सम्बोधन गर्न नसकेको र भ्रष्टाचारलाई प्रश्रय मात्र दिएको भन्दै जेन-जी विद्रोह भएको थियो । त्यसपछि जनताले नयाँ पुस्ताका एजेन्डा सम्बोधन गर्न सक्ने र राजनीतिक चेत भएका दलको खोजी थालेका छन् । वास्तवमा जनताले आगामी दिनमा राजनीतिक दल कस्ता होउन भन्ने चाहेका छन् त ?

जेन-जी आन्दोलनपछि राजनीतिक दलहरूले वैकल्पीक कार्ययोजनासहित जनसमुदायका बीचमा उभिन सकेका छैनन् । बरू उनीहरू अझै दन्तमझान र आरोप प्रत्यारोपमा मात्र सीमित छन् । सरकारले घोषणा गरेको आगामी निर्वाचनमा पनि उनीहरु यसैगरी जाने तयारीमा छन् । अर्कोतर्फ जेन-जीहरुले अहिलेका राजनीतिक दलहरुलाई नकारात्मकरूपमा प्रचार गरिरहेका छन् । उनीहरूले आफ्नो छुट्टै दल गठन गर्न सकेका छैनन् । 

आम नागरिक चाहिँ कस्तो राजनीतिक दल खोजिरहेका छन् त ?

देश चलाउने राजनीतिक दलहरूले नै हो । तर त्यसका लागि पहिलो सर्त दल र उनीहरूको नेतृत्वमा नैतिक चेत चाहिन्छ । राजनीतिक दलहरूमा राजनीतिक चेत तथा पारदर्शीता नहुँदा देश भ्रष्टाचारमा डुबेको हो । अब जनतासमक्ष जाने राजनीतिक दलहरूमा स्पष्ट राजनीतिक दृष्टिकोण अनिवार्य छ ।

दोस्रो हो- पारदर्शीता । अहिले नेपाली युवाले पारदर्शीता खोजेका छन् । आफूहरूले उठाएका कुरा तत्काल दलहरूले सुनुन् भन्ने चाहना उनीहरूको छ । युवा पुस्ता प्रविधिमा सक्रिय छन् र आफ्ना माग र मुद्दाको सम्बोधन एक क्लिकको भरमा भइदियोस् भन्ने चाहन्छन् ।

तेस्रो हो– समावेशी लोकतान्त्रिक चरित्र । राजनीतिक दलहरूमा समावेशीका नाममा आफ्ना नजिकका व्यक्तिलाई काखी च्याप्ने प्रवृत्ति छ । सबै जात, जाति, लिङ्ग र समुदायलाई उनीहरूले समान अवसर दिन सकेका छैनन् । अब जनतामा जाने दलहरूले भागबन्डाका आधारमा भन्दा पनि क्षमताका आधारमा पदको व्यवस्था गर्नुपर्ने छ । 

जसरी जेन-जी पुस्ताले आफूहरू राज्यका कुनै पनि निकायमा समावेश नभएको महसुस गरेका थिए अब त्यस्तो हुनु हुँदैन । पुराना हुन् या नयाँ दर्ता हुने दलहरूले युवा पुस्ताको भावना बुझ्न सक्नुपर्छ । दलहरूको अर्को सर्त जनतालाई सहज सेवा उपलब्ध गराउने क्षमता हुनुपर्छ । 

प्राथमिकताका आधारमा अल्पकालीन र दीर्घकालीन डेलिभरी दिन सक्नुपर्ने हुन्छ । जस्तै कुन ठाउँका जनतालाई के चाहिएको हो सरकारमा पुगेपछि त्यो दिन सक्नुपर्छ । घोषणापत्रमा समेट्ने तर चुनाव जितेपछि बिर्सने बानीले जनता आजित भइसकेका छन् ।

दलहरूले समेट्नुपर्ने पाँचौं क्षेत्र हो– विदेशमा रहेका नेपाली । अहिले लाखौं नेपाली विदेशमा छन् । उनीहरूको भावना बुझ्न सक्ने दलको खाँचो छ । विदेशमा रहेका नेपालीले सिकेको सीप र आर्जन गरेको सम्पत्ति नेपालमा ल्याएर लगानी गर्न सक्ने वातावरण बनाउने एजेन्डा दलहरूले बनाउनुपर्छ ।

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगमा १५ वटा नयाँ राजनीतिक दलले दर्ताको निवेदन दिएका छन्। चुनाव घोषणा हुनुअघि १० र चुनाव घोषणा भइसकेपछि ५ दलको निवेदन परेको हो । यसअघि नै १ सय २४ वटा दल दर्ता भइसकेका छन् । 

दल दर्ताको निवेदन दिने क्रम जारी छ । जति सुकै दल दर्ता भए पनि परिवर्तनको भावनाअनुसार एजेन्डा तय गर्न र काम गर्न नसक्नेहरू जनताबाट बहिस्कृत हुने छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।