कांग्रेस-एमालेको सहकार्य आवश्यक छ : गगन थापा

‘रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको निराधार हो’
वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस-एमालेको सहकार्य आवश्यक छ : गगन थापा

कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशका महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्न कांग्रेस र नेकपा एमालेबीच सहकार्य आवश्यक रहेको जनाएका छन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत हुलाकी राजमार्ग केन्द्रित ‘संवाद यात्रा’ का क्रममा कञ्चनपुरको बेलौरीमा आज (मंगलबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको समृद्धि र विकासका लागि ठुला दुई दल मिल्न जरुरी रहेको धारणा राखे । त्यसै क्रममा, के एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने कसरतमा कांग्रेस केन्द्रित भएको हो ? भन्ने कान्तिपुरले सोधेको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले सरकार गठनका लागि नभई देशको महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्न कांग्रेस र एमालेबीच सहकार्य आवश्यक रहेको प्रस्ट्याए । अहिलेको सरकारलाई एक वर्षसम्म नचलाउने योजनामा कांग्रेस रहेको उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने कुरा निराधार हल्ला मात्रै रहेको कांग्रेस महामन्त्री थापाले जनाए ।

कांग्रेसले कुनै व्यक्ति विशेषका सन्दर्भमा नभई सहकारीसम्बन्धी समस्या समाधानका लागि संसदीय छानबिन समितिको माग गरेको थापाको भनाइ छ ।

कांग्रेसले पूर्वबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित ‘संवाद यात्रा’ आज कञ्चनपुर पुगेर सकिएको छ । त्यस क्रममा समुदायबाट प्राप्त विवरण र नागरिकका सुझाव तथा गुनासाहरूप्रति पार्टी र सरकारको ध्यानाकर्षण गराउनु महामन्त्री थापाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement