काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहान साढे १० बजेका लागि बैठक बोलाएका थियो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ निर्धारित समयमै समितिमा पुगे । तर, १५ मिनेट कुर्दासमेत सदस्यहरु उपस्थित भएनन् ।
त्यसपछि मन्त्री श्रेष्ठ सभापति राजकिशोर यादवसँग बिदा मागेर हिँडे । युद्धग्रस्त मुलुकमा रहेका नेपालीको अवस्थाबारे छलफल गर्न बोलाइएको बैठकमा कोरम पुग्ने गरी सदस्यहरु नै नपुगेपछि सभापतिले बैठक स्थगित गरेका हुन् ।
निर्धारित समयमा सदस्यहरु उपस्थित नहुने र कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको यो पहिलोपटक भने होइन । यसअघि पनि समितिका बैठकहरु यसैगरी स्थगित हुँदै आएका उदाहरण छन् । यसले हाम्रा सांसदहरु कति गैरजिम्मेवार छन् भन्ने प्रष्ट हुने गरेको छ । त्यसमाथि समितिले आजको बैठकमा विदेशस्थित नेपाली नियोग र युद्धग्रस्त मुलुकमा रहेका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी लिन खोजेको थियो ।
समितिको आजको बैठकमा पछिल्लो समय भएका मन्त्रीस्तरीय वैदेशिक भ्रमणका उद्देश्य र उपलब्धिका विषयमा समेत छलफल गर्ने कार्यक्रम थियो ।