यी हुन् प्रधानमन्त्री दाहाल कांग्रेससँग असन्तुष्ट हुनुका १० मुख्य कारण

फाल्गुन १६, २०८० |प्रकाश बम
यी हुन् प्रधानमन्त्री दाहाल कांग्रेससँग असन्तुष्ट हुनुका १० मुख्य कारण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल गठबन्धन दल नेपाली कांग्रेससँग एउटा मात्रै कारणले रुष्ट भएका होइनन् । गठबन्धन गरेपछि कांग्रेसले पटकपटक आफूलाई धोका दिएको बुझाइ प्रधानमन्त्री दाहालको छ । प्रधानमन्त्री दाहाल कांग्रेससँग असन्तुष्ट हुनुको हामीले औँल्याएका मुख्य १० कारण के हुन् त ?

पहिलो कारण : शेखर-गगन समूहको आलोचना

नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूह अहिलेको गठबन्धनप्रति सुरुदेखि नै असन्तुष्ट छन् । माओवादी केन्द्र संसद्को तेस्रो दल भएर पनि प्रधानमन्त्री उसैलाई दिएकोमा शेखर-गगन समूह सन्तुष्ट छैन । प्रधानमन्त्री पद कांग्रेसले नै लिनुपर्ने माग यो समूहको छ । यसलाई प्रधानमन्त्री दाहालले रुचाएका छैनन् ।

दोस्रो कारण  : कर्मचारी सरुवा-बढुवामा हस्तक्षेप

मन्त्रालयका सचिवदेखि कर्मचारीसम्मको सरुवा बढुवामा कांग्रेस सभापति शेरबहादुर देउवाले हस्तक्षेप गर्ने गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपी दानबहादुर कार्की र महेश केसीलगायतलाई देउवाको दबाबमा सरुवा भयो । हरेक तहका कर्मचारी सरुवा बढुवामा देउवाले हस्तक्षेप गर्ने गरेका कारण दाहाल आजित छन् ।

तेस्रो कारण : कोशी प्रदेशमा मुख्यमन्त्री र सभामुख गुम्नु

सत्ता गठबन्धन दलबीच कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । त्यही कारण माओवादी केन्द्रले आफ्नो पार्टीबाट सभामुख भएका बाबुराम गौतमलाई पदत्याग गर्न लगाएर गठबन्धनमा बहुमत पुर्‍याउँदै मुख्यमन्त्री लिने निर्णय गर्‍यो । तर कांग्रेसको शेखर कोइराला पक्षका नेता केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बने । यसमा कांग्रेसले धोका दिएको बुझाए प्रधानमन्त्री दाहालको छ । 

चौथो कारण : राष्ट्रियसभा निर्वाचनमा धोका

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी चम्पा देवी कार्की पराजित भइन । कांग्रेसको एउटा समूहको असहयोगले आफ्ना उम्मेदवार पराजित भएको बुझाइ माओवादी केन्द्रको छ ।

पाँचौँ कारण : चुनावी गठबन्धन नगर्ने कांग्रेस महासमिति बैठकको निर्णय

नेपाली कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगर्ने प्रस्ताव पेश गरे । उनले पेश गरेको प्रस्ताव केन्द्रीय समितिले आवश्यक परिमार्जित गरेर अन्तिम रुप दिने गरी पारित भयो । यसले आगामी चुनावमा कांग्रेससँग गठबन्धन नहुने ठानेर दाहाल अहिलेदेखि नै झस्किएका छन् ।

छैटौँ कारण : माओवादी सशस्त्र युद्धको आलोचना 

सरकारका उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो नीति प्रतिवेदनमा अनाहक सशस्त्र हिंसाको राजनीति सुरु गरेको र त्यही द्वन्द्वका कारण देश दलदलमा फसेको भनेका छन् । अहिले देखिएका आर्थिकलगायतका आम समस्या माओवादी विद्रोहले नै निम्त्याएको आरोपलाई प्रधानमन्त्री दाहालले सहज रूपमा लिएका छैनन् ।

सातौँ कारण : कांग्रेसमा हिन्दु राष्ट्रप्रति बढ्दो झुकाव

कांग्रेसमा सनातन हिन्दु राष्ट्रको बहस जोडतोडले उठेको छ । महासमिति बैठकमा प्रभावशाली नेतासमेत गरी १ हजार ६३ जनाले हस्ताक्षर नै बुझाए । यो महासमितिको कुल सदस्य सङ्ख्याको ४० प्रतिशत भन्दा बढी हो ।

आठौँ कारण : मन्त्रिपरिषद् हेरफेरमा देउवाको अवरोध

प्रधानमन्त्री दाहालले पटक-पटक मन्त्रिपरिषद् हेरफेर गर्ने अभिव्यक्ति दिए पनि कांग्रेस सभापति देउवाले मानेका छैनन् । देउवाले विभिन्न बहानामा लगाम लगाउन खोजेको भन्दै प्रधानमन्त्री दाहाल असन्तुष्ट छन् ।

नवौँ कारण : अर्थमन्त्री प्रकाशशरण महतसँग मतभेद

आफूसँग परामर्श नगरी अर्थमन्त्री प्रकाशशरण महतले एकलौटी निर्णय गर्दै आएको गुनासो प्रधानमन्त्री दाहालको छ । बजेट संशोधन गर्दा अर्थमन्त्रीले एकलौटी गरेको बुझाइ पनि प्रधानमन्त्रीको छ ।

दसौँ कारण : राष्ट्रिय सभा अध्यक्ष निर्वाचन

प्रधानमन्त्री दाहाललाई राष्ट्रियसभाको अध्यक्ष आफ्नै पार्टीबाट बनाउनुपर्ने दबाब छ । माओवादी केन्द्रको स्थायी समितिले नै उम्मेदवारी दिने निर्णय गरिसकेको छ । तर कांग्रेस सभापति देउवा राष्ट्रियसभाको अध्यक्ष कृष्णप्रसाद सिटौलालाई बनाउन चाहन्छन् । राष्ट्रियसभाको अध्यक्ष माओवादीले नलिए अब एक वर्षपछि प्रधानमन्त्री पनि गुम्ने र संवैधानिक परिषद्मा आफ्नो दलको प्रतिनिधित्व शून्य हुने डर दाहाललाई छ ।

 राष्ट्रियसभा अध्यक्ष निर्वाचनले कांग्रेस-माओवादीबीच भरोसा र आशंकाबाट गुज्रिरहेको सम्बन्ध छिनोफाना गर्ने मोडमा पुर्‍याएको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।