सरकारले अहँ ! सुन्दै सुनेन मिटरब्याजपीडितको आवाज

तत्काल सम्बोधन गर्न संसदको दबाब
फाल्गुन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारले अहँ ! सुन्दै सुनेन मिटरब्याजपीडितको आवाज

काठमाडौं । पूर्व मेचीदेखि पश्चिम महाकालीबाट हप्तौं-हप्ताको यात्रा । भोक प्यास चिसो, गर्मी, थकाइ, रोग, व्याध सबै बाधा अवरोध छिचोल्दै मिटरब्यापपीडित काठमाडौं आइपुगेका छन् । उनीहरु काठमाडौंसम्म न्याय माग्न आएका हुन् र न्यायको चाहनाबाहेक अरु केही छैन । यसकारण उनीहरु साहु महाजनबाट पीडित हुँदा हुँदै पनि अदम्य साहस र जुझारुपनका कारण न्याय योद्धा बनेका छन् ।

उनीहरुको संघीय सरकारसँग अपेक्षा छ । सरकारले न्याय दिन्छ भन्नेमा विश्वास छ । त्यही विश्वास र भरोसाकै कारण यो अदम्य यात्रामा निस्केका हुन् । उनीहरुलाई लाग्छ, सिंहदरबारको पर्खालबाहिर उभिएर चिच्याउँदा कसो सुन्दैन सरकारले ?

वर्षामा रुझेको देख्दा सरकारमा बसेकाहरुको मन कसो नरोला ? हुन पनि सयभन्दा बढी पालिका सरकारको आँगन नाघेर, ६ वटा प्रदेश सरकारको नाकैमुनि २३ दिनसम्म हिँड्दा पनि कुनै तहको सरकारसँग उनीहरुलाई दिने आश्वासन भएन । काठमाडौं आइपुगेपछि बल्ल सांसदहरुले आवाज उठाए, प्रधानमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

नागरिकमाथि न्याय गर्न ठूलो छाती हुनुपर्छ । तिमीले मागेको कुरा दिन सक्छु भन्ने आत्मविश्वास सरकारसँग हुनुपर्छ । तर आँसुको बलिन्द्र धारा बगाउँदै न्याय मागिरहेका महिला र पुरुषको अगाडि उभिएर कुरा सुन्ने साहस सरकारले आजसम्म गर्न सकेन । आफ्ना प्रतिनिधिलाई कुरा बुझ्नसमेत सरकारले पठाउन सकेन । बरु उनीहरुका आवाज किन नसुनेको ? भन्ने हाम्रो प्रश्नमा सरकारका प्रवक्ता रेखा शर्माले सजिलो जवाफ दिइन्- तुरुन्त छलफल गर्छौं ।

मन्त्री शर्माले यसो भन्दै गर्दा तालुकदार मन्त्रालय हेर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठ जिल्ला दौडाहामा छन् । तर यसपटक उनीहरु न्याय नपाई नफर्किनेमा दृढ छन् । बरु प्रहरीको लाठी खान तयार छन् । घाउचोट सहन पनि तयार छन् । कति संघर्ष गर्नुपर्छ ? सबै गर्न तयार छन् ।

यो न्याय प्राप्तिको अठोट हो । यी न्याय योद्धाले न्याय पाउनैपर्छ । सरकारले छलफलमात्र होइन, निर्णय पनि गरोस् । भाषण मात्र होइन, काम पनि गरोस् । उनीहरुको चहर्‍याएको घाउमा जतिसक्दो छिटो मल्हमपट्टी गरोस् । तर सबैभन्दा पहिला प्रधानमन्त्री-मन्त्री-सांसदहरु यी न्याय योद्धा उभिएकै जमिनमा उभिएर उनीहरुका पीडाको कथा सुनून् ।

यो पनि...

मिटरब्याजपीडितको आवाज सुन्ला त राज्यले ?

झरी र चिसोले मिटरब्याजी प्रभावित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement