माओवादी अध्यक्ष दाहाल भन्छन्- कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्नुपर्ने बेला आयो

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
माओवादी अध्यक्ष दाहाल भन्छन्- कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्नुपर्ने बेला आयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा नेपाली कांग्रेसले धोका दिएको बताएका छन् । प्रधानमन्त्री दाहालले कोशी प्रदेशमा गठबन्धनको निर्णय कार्यान्वयन नगरेकाले कांग्रेससँगको सहकार्यमा पुनर्विचार गर्नुपर्ने अवस्था आउने बताए ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले कोशी प्रदेशमा कांग्रेसका जनप्रतिनिधिले मत क्रस गर्दा राष्ट्रियसभामा आफ्ना उम्मेदवार पराजित भएको बताएका हुन् ।

यसलाई राम्रो संकेतका रुपमा लिन नसकिने उनको भनाइ थियो । दाहालले अबको चुनावमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी तयारी गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशनसमेत दिए । उनले पार्टीको पुस्तान्तरणमा आफू बाधक नरहेको पनि बताए । पार्टी कार्यकर्ताले चाहे हालका सबै पदाधिकारी बाहिरिएर नयाँलाई अवसर दिन आफू पछि नपर्ने उनको भनाइ थियो ।

दुई दिनसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले जनपरिचालनसहित देशभर अभियान चलाउने निर्णय गरेको छ । बैठकले चारमहिने अभियान सफल भएको निष्कर्षसहित कार्यकर्ताको मूल्यांकनको आधार तयार गर्ने निर्णय गरेको छ । अभियानमा १०० प्रतिशत खट्नेलाई प्रशंसापत्र, ७५ देखि ८० प्रतिशत खट्नेलाई धन्यवादपत्र र ५० देखि ५५ प्रतिशतसम्म खट्नेलाई निर्देशनपत्र दिने निर्णय गरेको हो ।

यसैगरी १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण सोधेर जवाफ आएपछि चेतावनी, घटुवा वा निलम्बनसम्मका कारबाही गर्ने निर्णय बैठकले गरेको छ ।

विधान अधिवेशनको तयारीस्वरुप माओवादी केन्द्रीय समिति बैठक बसेको हो । विधान अधिवेशन भोलि सुरु हुँदै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.