कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री थपिए

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री थपिए

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् । जसमा नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई स्वास्थ्य मन्त्रालय र रामकुमार खत्रीलाई कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालय र नारायण मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा दिइएको छ ।

यसैगरी राज्यमन्त्रीमा नियुक्त दुवै जना कांग्रेसका प्रदेश सांसद हुन् । जसमा आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनीताकुमारी गुरुङ रामलाई नियुक्त भए ।

कार्की नेतृत्वको कोशी सरकारमा अहिले शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय र कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहेका छन् ।

अब ६ जना थपिएपछि कोशी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । मुख्यमन्त्रीमा आफू नियुक्त भएको ४ महिनापछि कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.