भूकम्पपीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

भूकम्प प्रभावित क्षे‍त्रमा आवास निर्माणको अध्ययन गर्ने जिम्मा मुख्यसचिवलाई
पुनर्निर्माणमा खर्च गर्ने गरी संसदीय पूर्वाधार कोषमा डेढ अर्ब थप्ने
कार्तिक २७, २०८० |कान्तिपुर टीभी संवाददाता
भूकम्पपीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारलाई दिने भनिएको तत्काल ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । पीडितहरुको अस्थायी बसोबासका लागि प्रयोग हुनेगरी तत्काल ५० हजार रुपैयाँ दिने निर्णय भएको भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

संसद्‌को राज्य व्यवस्था समितिले समेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन र पीडितका गुनासा सुनेर फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो । समितिले तत्काल सहयोग गर्न र राहत पुर्याउन सरकारलाई निर्देशन दिएको थियो ।

आजको बैठकले आवास निर्माणको अध्ययन गरेर प्रतिवेदन बुझाउने जिम्मा मुख्यसचिवलाई दिएको छ ।

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

यस्तै संसदीय पूर्वाधार कोषमा डेढ अर्ब थपेर १० अर्ब पुर्याउने र त्यो रकम पुनर्निर्माणमा प्रयोग गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा अझै राहत र अस्थायी बसोबासका काम हुन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका पीडित अहिले पनि त्रिपालमुनि बस्न बाध्य छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.