खण्डहर बनेका सरकारी कार्यालयले कसरी दिँदै छन् सेवा ?

भाद्र ३१, २०८२ |कृपाल गौतम
खण्डहर बनेका सरकारी कार्यालयले कसरी दिँदै छन् सेवा ?

काठमाडौं । जेन-जीको आन्दोलनका क्रममा धेरै सरकारी कार्यालय तोडफोड र आगजनीले ध्वस्त भएपछि सेवा प्रवाहमा समस्या भएको छ । 

केही कार्यालयहरूले जेनतेन खण्डहर भवनबाटै सेवा दिन थालेका छन् भने केहीले विकल्प खोजिरहेका छन् । तर धेरै कागजात जलेकाले तथ्यांक संकलनमा भने समस्या हुने देखिएको छ ।

मंगलबारको आन्दोलनमा जलेर ध्वस्त बनेको स्वास्थ्य मन्त्रालय अहिले आफ्नो परिसरमै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा सरेको छ । मन्त्रालयका सबै फाइल तथा कम्प्युटर जलेर नस्ट भएका थिए । नयाँ भवनमा सरेसँगै मन्त्रालयका कर्मचारीले नियमित काम भने गर्न सकेका छैनन् ।

काठमाडौंभित्रका धेरैजसो ट्राफिक बिट जलेका छन् । कतिपय बन्दोवस्तीका सामान हराए त कति जलेर ध्वस्त भए । आन्दोलन साम्य भएपछि काठमाडौंमा ट्राफिक जाम बढेसँगै ट्राफिक नियन्त्रण गर्न प्रहरीलाई हम्मे-हम्मे छ । 

सोमबारसम्म ट्राफिक पोशाक बिनै यातायात व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले मंगलबारदेखि भने नयाँ पोशाक पाएका छन् । तर ट्राफिक प्रहरीको कन्ट्रोल रूम जलेर ध्वस्त भएकाले काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यालय समस्यामा छ ।

यता सिंहदरबारभित्रै रहेको राष्ट्रिय सतर्कता केन्द्रले भने पुरानै भवनबाट काम गर्ने तयारी गरेको छ । छरपस्ट भएका कागजात मिलाउने काम सकिएको छ । अब क्षतिग्रस्त भवनबाटै काम सुरू गर्ने केन्द्रको भनाइ छ ।

सिंहदरबारभित्रै रहेको शिक्षा मन्त्रालय भने केशर महलमा सरेको छ । १० वर्ष अघि पनि शिक्षा मन्त्रालय केशर महलमै थियो । मन्त्रालयका फाइलहरू भने जलेका छैनन् । अत्यावश्यक फाइल केशर महल ल्याएर काम सुरू गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसो त अरू धेरै मन्त्रालय र कार्यालयहरू पनि क्षतिग्रस्त अवस्थामा छन् । सरकारी कामलाई सहज बनाउँदै नागरिकलाई तत्काल सेवा दिन वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिएको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।