‘देश गम्भीर संकटमा पुग्यो, राजनीतिक दल एकजुट हुनुपर्छ’

आश्विन २, २०८० |कान्तिपुर टीभी संवाददाता
‘देश गम्भीर संकटमा पुग्यो, राजनीतिक दल एकजुट हुनुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेकाले सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले धेरै प्रकारका खतराबाट देश जेलिएको धारणा राखे । उनले संविधान निर्माणमा स्वर्गीय सुवास नेम्वाङको योगदान स्मरण गर्दै संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताए । संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको उनको टिप्पणी छ ।

संविधानविद् नीलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनुपर्ने धारणा राखे । उनले संविधानकै समीक्षा गर्नुपर्ने बेला भएको उल्लेख गर्दै स‌ंविधान निर्माणमा नेम्वाङले निर्वाह गरेको भूमिकाको स्मरण गरे ।

संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.