काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै गर्न जरुरी देखिएको जनाएका छन् ।
प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा उनले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी-पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी-पहिरो रोक्न मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै बनाउनुपर्ने आवश्यकता देखिएको जनाए । सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितिबारे अध्ययन नगरी विकास मोडालिटी बनाएर बाढी-पहिरोका घटना दोहोरिइरहने अवस्था देखिएको उनको भनाइ छ ।
सरकारले बनाउने विकासको मोडालिटीको विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्री दाहालले सदनमा जानकारी दिए । ‘सरकारको तर्फबाट नेपालको विकासको मोडालिटीको बारेमा नेपालको भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भीर रुपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृत्ति हुन्छ,’ दाहालले भने, ‘यसमा नेपाल सरकारको गम्भीर रुपले ध्यानकर्षण भएको छ । सबै मान्यसदस्यहरुले यो विषयलाई दीर्घकालीन रुपमा विचार गर्न जरुरी छ ।’
प्रधानमन्त्री दाहालले बाढी-पहिरो रोकथामको सांसदहरुले समेत भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको धारणा राखे ।