जिल्ला निर्वाचन कार्यालय हटाउने प्रस्तावमा सत्तारुढ दलकै विमति

जेष्ठ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
जिल्ला निर्वाचन कार्यालय हटाउने प्रस्तावमा सत्तारुढ दलकै विमति

काठमाडौं । निर्वाचन आयोगका जिल्ला कार्यालयहरुलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा सत्तापक्ष दलका नेताहरु नै असन्तुष्ट देखिएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखी काम गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमाथि आपत्ति जानउँदै निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका नेताहरुले सरकारको प्रस्तावमाथि अनसन्तुष्टि पोखेका छन् ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका नेता मुक्ति प्रधानले सीडीयो कार्यालय अन्तर्गत निर्वाचन इकाइ लैजाने भन्ने विषय स्वीकार्य नहुने धारणा राखे । यस्तो व्यवस्था कानुनमा नरहेको उनको भनाइ छ ।

प्रधानले भने, ‘यो कानुनमा व्यवस्था छैन । कानुनमा व्यवस्था नभएको कुरा बजेटमा आएको स्वीकार्यको विषय पनि हुँदैन । सरकारले र हाम्रो पार्टीले त्यस्तो कुनै धारणा बनाएकै छैन । सरकारको बजेटमा कसरी प¥यो भन्ने छलफलको विषय हो ।’

जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले निर्वाचन आयोगका जिल्ला कार्यालयहरु हटाउने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे । अधिकार सम्पन्न हुनुपर्ने निर्वाचन आयोगलाई झनै कमजोर बनाउने परिस्थिति सिर्जना भएको भन्दै विरोध जनाए ।

अधिकारीले भने, ‘हाम्रो पार्टी निर्वाचन आयोगका जिल्ला कार्यालयहरु हटाउने पक्षमा छैन । स्वायत्त रहनुपर्ने निर्वाचन आयोग, अधिकार सम्पन्न हुनुपर्ने निर्वाचन आयोगलाई झनै कमजोर बनाउने परिस्थिति सिर्जना भएको छ । यो पञ्चायतकालीन व्यवस्था जस्तो अहिले यो लागु गर्नु हुँदैन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement