नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलयमा धर्ना

कार्तिक २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलयमा धर्ना

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलय परिसरमा धर्ना दिएको छ ।

समितिले शनिबार कार्यलयमा धर्ना दिएको हो । स्काउटको निर्देशक नियुक्तिको लागि शनिबार सर्टलिस्टमा परेकाहरूलाई अन्तर्वार्ताको लागि बोलाइएको थियो । कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो । धर्नामा प्रहरीसँग धकेलाधकेल समेत भएको थियो । 

नेपाल स्काउट शुद्धिकरण समितको संयोजक देवदुत अधिकारीले निर्देशक पदको लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको बताउनु भयो । बहालवाला निर्देशक हुँदा-हुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गरिएको उहाँको भनाइ छ । उहाँले प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताउनु भयो । 

निर्वाचित भएको प्रमुख आयुक्तलाई निःवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर नाइटिङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर आयुक्त बनाएको उहाँको आरोप छ । उहाँले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नको छानबिन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने बताउनु भयो । प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गर्नुपर्ने उहाँको माग छ ।

स्काउटका निःवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचित गरे पनि तत्कालिन मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै हटाउनुभएको बताउनु भयो । कानुनी प्रक्रिया नपुर्‍याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि आफूले सर्वोच्चमा मुद्दा हालेको उहाँले जानकारी दिनुभयो । 

हाल अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा निर्देशक भ्याकेन्सी निकालेर नयाँ नियुक्त गर्न नमिल्ने उहाँको जिकिर छ । विषम परिस्थितिमा पनि हतार हतार गरेर नियुक्त गर्न खोजिएको उहाँले दाबी गर्नुभयो । उहाँले निर्देशकले राजीनामा दिएको भनिए पनि नयाँ निर्देशक चयन प्रक्रियामा समावेश भएको बताउनुभयो ।

उहाँले विज्ञापन निकाल्दाखेरी पनि जालझेल गरेको आरोप लगाउनुभयो । जोईन्ट सेक्रेटरी सरहको पदको लागी विज्ञापन आह्वान गरे पनि न्युनतम शैक्षिक योग्यता स्नातक तह राखिएको उहाँले बताउनु भयो । उहाँले आफ्नो मान्छे नियुक्ति गर्नका लागि शैक्षिक योग्यता घटाएको आरोप लगाउनु भयो ।

उहाँले हाल सर्ट लिस्टमा नाम निकालेको अर्पण कार्की परीक्षा हुनुभन्दा एक दिन अगाडिसम्म स्काउटको कार्यालयमा आउने गरेको आरोप लगाउनु भयो । कार्की प्रमुख आयुक्त घिमिरे र निर्देशक रामप्रसाद भट्टराईको आफ्नै साथी रहेको उहाँको दाबी छ । उहाँले आफ्नै साथी भएपछि प्रश्नपत्र बाहिरिँदैन भन्ने प्रश्न समेत उठाउनु भयो । उहाँले निर्देशक पदको लिखित परीक्षा र अन्तर्वार्ता रोक्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सतर्कता केन्द्रमा पनि आफूहरूले उजुरी दिएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.