प्रधानमन्त्री दाहाल जेठ १७ देखि भारत भ्रमणमा जाने

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल जेठ १७ देखि भारत भ्रमणमा जाने

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यही जेठ १७ देखि २० सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको पाँच महिना पछि उनी दक्षिणी छिमेक भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री दाहाल संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै भारत जाने तयारीमा जुटेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर प्रधानमन्त्री दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । यसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।

प्रधानमन्त्री दाहालको चार दिने भारत भ्रमणका लागि नेपाली पक्षले गृहकार्यलाई तीव्रता दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणको गृहकार्य भइरहेको जानकारी दिएको आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री दाहाल जेठ १७ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्रका अधिकारीहरुले जानकारी दिएका छन् । सोही दिन दाहाललाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ गते मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुने जानकारी दिइएको छ ।

गत वैशाखमै भारत भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो ।

प्रधानमन्त्रीका रुपमा दाहालको यो तेस्रो भारत भ्रमण हुनेछ । यसअघि दुई पटक उनले भारत भ्रमण गरिसकेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा उनले उत्तरी छिमेक चीनबाट पहिलो विदेश भ्रमण गरेका थिए । चीनबाट फर्केपछि उनी भारत भ्रमणमा गएका थिए । सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा भने उनले पहिलो पटक भारतको भ्रमण गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.