‘आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन’

वैशाख २४, २०८० |कान्तिपुर टीभी संवाददाता
‘आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन’

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो ? भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उनले यस्तो प्रश्न उठाएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मान हानि गर्न नहुने धारणा राखे । ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरुको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भयो रे भनेर हल्ला पनि छ । फेरि उहाँ हराउनुभयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो । यसमा आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ,’ उनले भने, ‘उनीहरुलाई यो सरकारले पक्राउ पुर्जी त जारी गरेको छ भन्ने सुनेको छैन ।’

 ‘सरकारको नेतृत्व गरेर कसैले बदमासी गरे कारबाही गर्ने दिशामा लाग्नुपर्ने हो ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको जनाए । ‘प्रधानमन्त्रीले यो त ट्रेलर मात्रै हो, वास्तविक फिल्म त आउन बाँकी छ, के भनेको , के बोलेको ? कुन फिल्म देखाउनुहुन्छ । फिल्महरु हेर्दै जाने समय आएको छ,’ उनले भने, ‘सरकारको नेतृत्व गरेर कसैले बदमासी गरे कारबाही गर्ने दिशामा लाग्नुपर्ने हो ।’

नक्कली भुटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसद्‌मा नेकपा एमालेले उठाएको उनले दाबी गरे । ‘कुनै पनि प्रकरणमा कसैको गल्ती भएको छ भने कारबाही हुनुपर्छ, नेकपा एमाले ढाकछोप गर्ने पक्षमा छैन । हाम्रै सांसदले यो प्रकरण उठाउनुभएको हो, सबैभन्दा पहिला नेकपा एमालेले उठाएको हो, कहाँ जानुभएको थियो । यस्ता बकवास यो सरकारले बन्द गरोस्,’ उनले भने ।

उनले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.