कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

चैत्र १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बिहान बस्दैछ । बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसले जनाएको छ।

बैठकले बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर - २ बाट पार्टीले उठाउने उम्मेदवारबारे टुंगो लगाउने जनाइएको छ। यस्तै भागबन्डाअनुसार सरकारमा पठाउन बाँकी चार मन्त्रीकोसमेत बैठकले टुंगो लगाउने एक नेताले बताए । मन्त्रालय भागबन्डामा कांग्रेसले आठ मन्त्रालय पाएको छ । जसअनुसार कांग्रेसले चार मन्त्री सरकारमा पठाइसकेको छ भने चार जनाको नाम दिन बाँकी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर अझै सरकारले पूर्णता भने पाउन सकेको छैन । प्रधानमन्त्री दाहालसँग अझै पनि ६ मन्त्रालय बाँकी छ । कांग्रेसले पाएको मन्त्रालयमा मन्त्री नियुक्त हुन नसक्नुको पछाडि कांग्रेसकै आन्तरिक असन्तुष्टि रहेको तथ्य बाहिर आएको छ ।

संस्थापनइतर शेखर कोइराला समूहले तीनवटा मन्त्रालयमा दाबी नछाडेपछि कांग्रेसले सबै मन्त्रीको नाम पठाउन नसकेको हो । कांग्रेसको भागमा परेका आठमध्ये दुई मन्त्रालय मात्रै कोइराला समूहले पाउने भएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

आजको बैठकमा उपस्थितिका लागि समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरिएको छ ।

यसअघि बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन र तनहुँको उम्मेदवार चयन गरेको थियो ।

बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बिहीबारको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बारा क्षेत्र नम्बर - २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको जानकारी दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement