सुराकीका नाममा खर्च गर्न पाउने नियमावली खारेज

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुराकीका नाममा खर्च गर्न पाउने नियमावली खारेज

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।

गृहमन्त्रीका रुपमा पद बहाली गर्दै शुक्रबार मन्त्री श्रेष्ठले पहिलो निर्णयका रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् । उनले आफूले गरेको सो निर्णय पारित गर्न मन्त्रिपरिषद्‌मा लाने पनि जानकारी दिए ।

‘मैले पदबहाली गर्दा दुईवटा विषयमा फाइलमा हस्ताक्षर गरेको छु । त्यो दुईवटै विषय प्रस्तावका रुपमा मन्त्रिपरिषद्को बैठकमा पेस गरिनेछ । अहिलेसम्म मन्त्री, सचिवले सुराकीको नाममा खर्च गर्ने जो प्रणाली थियो, नियमावली थियो हाललाई त्यो खारेज गरिएको छ । त्यसलाई मन्त्रिपरिषद्‌मा निर्णयका लागि प्रस्तुत गर्ने मैले प्रस्तावमा सही गरेँ । त्यो मन्त्रिपरिषद् जान्छ । दोस्रो, अहिलेको एउटा मुख्य समस्या मिटरब्याजीको समस्या छ । मिटरब्याजी पीडितहरुलाई न्याय दिन र २१औं शताब्दीको आजको लोकतान्त्रिक नेपालमा पनि सामन्तवादका अवशेषहरु जुन रुपमा देखा पर्दै छन् । अत्यन्त पीडाको विषय हो हामी सबैका लागि,’ उनले भने, ‘त्यसलाई समाधान गर्न मन्त्रिपरिषद्ले कानुनलाई केही संशोधन गर्नेगरी विधेयक तयार पनि पारिसकेको छ । यहीँबाट प्रस्ताव गरेर त्यो अगाडि बढिसकेको छ ।’

त्यसैगरी उनले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गरे । यो फाइल पनि निर्णयका लागि मन्त्रिपरिषद्‌मा पेस गर्ने उनले जानकारी दिए । ‘आजको मेरो निर्णय एउटा सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने हामीले प्रस्ताव गरेका छौं । त्यो आयोगको नामावलीसहित हामीले मन्त्रिपरिषद्‌मा पेस गर्नेछौं । त्यसले सम्पूर्ण अनुशासन गरेर यो प्रक्रियालाई निरुपण गर्न र न्याय दिन प्रभावकारी कदम चाल्नेछ । यो पनि आजको निर्णय हो ।’

उनले मातहतका कर्मचारीलाई समयको पालना गर्न निर्देशन दिए । समयपालनाको अवज्ञालाई छुट नदिने उनको भनाइ छ । मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि आग्रह गरे ।

गृहमन्त्रीको १३ बुँदे निर्देशन, मिटरब्याजीपीडितको समस्या समाधान गर्न सर्वाधिकार आयोग


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.