बाबुरामको प्रश्न-आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाबुरामको प्रश्न-आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गर्नुभयो । 

उहाँले नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्व र गरीमा बुझाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाल भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने सङ्कल्प गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयतालाई जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताउनु भयो । उहाँले सङ्घीयता र समावेशिता लोकतन्त्रका लागि उत्तिकै महत्वपूर्ण पाटो रहेको समेत जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.