मधेस केन्द्रित साना ४ दलको बन्यो ‘लोकतान्त्रिक मधेसी मोर्चा’

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
मधेस केन्द्रित साना ४ दलको बन्यो ‘लोकतान्त्रिक मधेसी मोर्चा’

काठमाडौं । मधेस केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् ।

मधेस केन्द्रित साना दलहरू तराई-मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमबार लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको घोषणा गरेका हुन् । मोर्चाले जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो ११ बुँदे साझा अवधारणापत्र सार्वजनिक गरेको छ ।

अवधारणापत्र सार्वजनिक गर्दै तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेस आन्दोलनका मुद्दाहरूमा केन्द्रित रहेर समसामयिक विषयहरूमा मधेसको सही प्रतिनिधित्व गर्ने दाबी गरे । उनले मधेसको मुद्दाको मसाललाई आफूहरुले अगाडि बढाउने जनाए । मधेस आन्दोलनलाई अगाडि बढाउन मोर्चा गठन गरेको उनको भनाइ छ ।

‘मधेस आन्दोलनका स्वघोषित वारिसहरु सत्ताको स्वाद चाख्नका निमित्त मधेसका मुद्दाहरुलाई बिसाए । मधेस विरोधीहरु मधेसको मुद्दालाई बर्गलाए । आजको स्थिति यही छ,’ उनले भने, ‘त्यसकारण मधेसको मुद्दाको मसाललाई हामी अगाडि बढाउँछौं । मधेसको मुद्दाको ज्योति, मधेसको आन्दोलनलाई हामी अगाडि बढाउँछौं भन्ने अठोटका साथ हामी चारवटा पार्टी एक ठाउँमा जम्मा हुने निर्णय गरेका छौं । एकजुट हुने निर्णय गरेका छौं । सहकार्य गर्ने निर्णय गरेका छौं ।’

मोर्चाको अवधारणापत्रमा लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै विभिन्न षड्यन्त्र र कुटिल अभ्यासहरूबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेसी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ ।

मोर्चाले त्यस्तै पहिचानमा आधारित रही प्रदेशहरूको सीमांकन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मानको माग गरेको छ । त्यस्तै राष्ट्रियसभामा जनसंख्यामा आधारित प्रतिनिधित्व र संसदीय अभ्यासमा राष्ट्रियसभाको समान भूमिकालगायत विषयमा संविधान संशोधनको माग गरेको छ ।

संविधानमा भएकै व्यवस्थालाई समेत अभ्यासमा पन्छाइने र बेवास्ता गर्ने कामहरू भइरहेको आरोप लगाउँदै मोर्चाले समावेशिताको सिद्धान्तको मर्मअनुसार वर्तमान संविधानको संशोधन गरी समानुपातिक समावेशिताको अभ्यासलाई न्यायोचित र सहज बनाउनुपर्ने भनेको छ । मोर्चाले स्थानीय तहको दलविहीन निर्वाचन तथा प्रदेशसभा र संघीय संसद्‌को निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनुपर्नेलगायत विभिन्न माग राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.