घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनीत, वेदुरामलाई उपाध्यक्षको जिम्मेवारी

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनीत, वेदुरामलाई उपाध्यक्षको जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ ।

आईतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी नेताको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजदेखि लागु हुनेगरी उपाध्यक्षमा मनोनीत गरिएको जानकारी दिए । ‘पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ । यो सर्वसम्मत निर्णय हो ।’ उनले भने ।

बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ । केन्द्रीय सचिवालय सदस्यको संख्या १९ बनाइएको छ ।

साथै खतिवडाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । अबदेखि सत्ता पक्षमा बस्ने निर्णय गरिएको छ । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइसकेको छैन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.