स्ववियु चुनावको माग गर्दै क्याम्पस प्रमुखको पुतला दहन

चैत्र ५, २०७९ |नवीन पौडेल
स्ववियु चुनावको माग गर्दै क्याम्पस प्रमुखको पुतला दहन

परासी । स्ववियु निर्वाचनको माग गर्दै पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा क्याम्पसमा विद्यार्थीहरुले नाराबाजीसहित क्याम्पस प्रमुखको पुतला दहन गरेका छन् ।

स्ववियु निर्वाचनको माग गरे पनि क्याम्पस प्रशासनले अनुमति नदिएपछि नेविसंघ,अनेरास्ववियु र क्रान्तिकारीले संयुक्त रुपमा क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियु देवकोटा क्याम्पसका इकाई अध्यक्ष विनव भण्डारीले बताए । फागुन २७ गते क्याम्पसका सबै प्रशासकीय शाखाहरुमा विद्यार्थीले तालाबन्दी गरेका थिए ।

ताला खुलाउने विषयमा क्याम्पस र विद्यार्थी संगठनबीच पटक-पटक भएको वार्ता निष्कर्षविहीन बनेको छ । स्ववियु निर्वाचन नगराइ आगामी क्याम्पस सभामा विद्यार्थी परिषद्का केही बुदाँहरुमा लचकता अपनाएर परिमार्जन गरी विद्यार्थी परिषद्लाई नै निरन्तरता दिने पक्षमा क्याम्पस प्रशासन छ । यता जसरी पनि स्ववियु निर्वाचन हुनु पर्ने विद्यार्थी संगठनको अडान छ ।

क्याम्पसमा अनेरास्वियु, नेविसंघ र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । जिल्लाको पाल्ही बहुमुखी क्याम्पस,दिव्य ज्योति र त्रिभुवन बहुमुखी क्याम्पसमा निर्वाचन जारी छ। 


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।