देशभर स्ववियु निर्वाचनको मतदान सुरु (भिडियो)

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
देशभर स्ववियु निर्वाचनको मतदान सुरु (भिडियो)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मतदान सुरु भएको छ।

अधिकांश क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । मतदान अपराह्न ४ बजेसम्म चल्नेछ । योग्य नेतृत्व चयन गर्न विवेक प्रयोग गरी निर्धक्क रुपमा मतदान गर्न त्रिभुवन विश्वविद्यालयले आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । तीमध्ये ४८ वटा आंगिक र एक तिहाइ सम्बन्धनप्राप्त क्याम्पसमा आज स्ववियु निर्वाचन हुन लागेको हो । तर, विद्यार्थी संगठनबीचको विवादका कारण काठमाडौं उपत्यकाका रत्नराज्य, त्रिचन्द्र, मीनभवन, पाटन, आयुर्वेदलगायत १२ वटा आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ भने धनकुटा र गोरखा क्याम्पसमा नेतृत्व निर्विरोध निर्वाचित भइसकेको छ । स्ववियु निर्वाचन प्रत्येक दुई वर्षमा हुनुपर्ने प्रावधान छ । २०७३ सालमा २६ वटा आंगिक क्याम्पसमा भए पनि २०६५ यता अधिकांश क्याम्पसमा नियमित चुनाव हुन सकेको छैन ।

स्ववियुका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनिनेछन् भने उपाध्यक्ष तथा सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट छानिनेछन् ।

विद्यार्थीको हकहित र शैक्षिक उन्नयनका लागि महत्वपूर्ण मानिने स्ववियु निर्वाचनमा योग्य र इमान्दार नेतृत्व चयन गर्न विश्वविद्यालयले सबै विद्यार्थीमा आग्रह गरेको छ ।

स्ववियु निर्वाचनमा प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनबीच नै मुख्य प्रतिस्पर्धा हुने छ । यसपटक नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले तालमेल गरेका छन् भने एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अलग्गै चुनावी मैदानमा छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.