यस्तो छ एमालेको आम्दानी-खर्च ? (भिडियो रिपोर्ट)

चैत्र ४, २०७९ |विकास आचार्य
यस्तो छ एमालेको आम्दानी-खर्च ? (भिडियो रिपोर्ट)

काठमाडौं । संसद्‌को दोस्रो ठूलो दल नेकपा एमालेले आफूलाई अरु भन्दा सुदृढ र व्यवस्थित पार्टी दाबी गर्छ । धेरैचोटि सरकारको नेतृत्व गरिसकेको भए पनि एमाले नेताहरु आफ्नो दललाई 'धनी पार्टी' भन्न चाहँदैनन् । तर, वार्षिक बजेट हेर्दा एमाले ऋणमा छैन । कोषाध्यक्ष नै नरहेको एमालेको हिसाब-किताब र उसको वित्तीय हैसियत लोभलाग्दै मानिन्छ ।

नेकपा एमालेले वार्षिक बजेट नै बनाएर आम्दानी र खर्च गर्छ । कर्मचारीको पारिश्रमिक, कार्यालय भाडासहितका १६ शीर्षकमा खर्च गर्ने एमालेले सदस्यता शुल्क, चन्दा, प्रकाशन बिक्रीसहित सात शीर्षकबाट आम्दानी गर्छ । आर्थिक वर्ष ०७८/७९ मा मात्रै एमालेले ४१ करोड ७२ लाख आम्दानी गरेको छ ।

जब कि अघिल्लो वर्ष उसको आम्दानी त्यसको ठीक आधा अर्थात् २० करोड ७४ लाख मात्र थियो । गत असार मसान्तसम्म एक वर्षको अवधिमा उसले २७ करोड ८३ लाख खर्च गरेर १३ करोड ८९ लाख बचत गरेको छ । देशका विभिन्न ९ वटा बैंक र एउटा सहकारीमा एमालेका खातामा १३ करोड ८९ लाख बचत रहेको छ । जबकि अघिल्लो बर्ष एमाले करिब १७ करोड घाटामा थियो ।

एमालेको केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख विष्णु रिमालका अनुसार पार्टीको सबैभन्दा ठूलो आम्दानीको स्रोत लेबी हो । पार्टी सदस्य, सांसद, राजनीतिक नियुक्ति लिएकाहरू र अन्य लेबी गरी उसले १२ करोड २६ लाख आम्दानी गरेको छ । विशेष आर्थिक सहयोग र कार्यक्रममार्फत दुई करोड ९७ लाख आम्दानी गरेको छ ।

उसले अधिवेशन तथा विशेष खर्चको शीर्षकमा धेरै खर्च गरेको छ । गत वर्षको विधान महाधिवेशन र १०औं महाधिवेशनमा एमालेले १५ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । एमालेले भवनको लिज, मेसिनरी सामान, फर्निचर, सवारीसाधन र अन्य मर्मत सम्भारमा दुई करोड ४४ लाख खर्च गरेको छ । यातायातमा उसले २ लाख २७ हजार ६ सय २९ रुपैयाँ खर्च गरेको कार्यालय सचिव भीष्म अधिकारीको भनाइ छ ।

एमाले २०७२ सालपछि सधैं भाडाको घरमा छ । बल्खुको पार्टी कार्यालय भूकम्पले क्षति भएपछि धुम्बाराही, थापाथली हुँदै एमालेको कार्यालय अहिले ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा छ । मासिक चार लाख भाडा तिर्ने गरेको एमालेले आफ्नै खर्चमा भवनलाई स्मार्ट पार्टी कार्यालय बनाएको छ ।

आर्थिक रुपमा एमाले धनी छ । मुनाफा पनि धेरै देखिन्छ । काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा उसका आफ्नै जग्गा र भवन छन् । तर, अचल सम्पत्ति कति छ भन्ने एकीन तथ्यांक भने पार्टीसँग छैन । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।