चियापानमा राष्ट्रपति पौडेलले भने- निष्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिबद्ध रहनेछु

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
चियापानमा राष्ट्रपति पौडेलले भने- निष्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिबद्ध रहनेछु

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघीय तथा प्रदेशसभाका सांसदहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् ।

शीतलनिवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले चियापान कार्यक्रम आयोजना गरेका हुन् । चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्रीका साथै नेपाली कांग्रेस, नेकपा एमालेलगायत विभिन्न दलका सांसदहरुको उपस्थिति थियो ।

चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भने, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।”

आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उनले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने राष्ट्रपति पौडेलले प्रण गरे । संविधानले नेपालका तमाम जनतालाई असिम अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले यसको जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिन सबैको परम कर्तव्य भएको बताए । पटक-पटकका नयाँ-नयाँ प्रयोग नेपालले भोग्न सहज नहुने उनको भनाइ थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि धन्यवाद दिन पौडेलले सांसदहरुलाई चियापानमा बोलाएका हुन् । गत फागुन २५ गते पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.