१५ वर्षदेखि नभएको स्ववियु चुनावको तयारीमा विद्यार्थी संगठन (रिपोर्ट)

माघ २६, २०७९ |प्रकाश बम
१५ वर्षदेखि नभएको स्ववियु चुनावको तयारीमा विद्यार्थी संगठन (रिपोर्ट)

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थी संगठनहरु चुनावको तयारीमा जुट्न थालेका छन् । चैत ५ गते हुने चुनावका लागि त्रिभुवन विश्वविद्यालयले निर्देशिका र आचासंहिता निर्माण गरिसकेको छ । तर ठूला भनिएका विद्यार्थी संगनहरुकै आन्तरिक संरचना भने अस्तव्यस्त छन् ।

त्रिभुवन विश्वविद्यालयका ६२ आंगीक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । ती क्याम्पसहरुमा आगामी चैत ५ मा स्ववियु निर्वाचन हुँदै छ । २०७३ सालमा विद्यार्थी संगठनहरुकै कारण २६ वटा क्याम्पसमा मात्रै निर्वाचन भएको थियो । अधिकांश क्याम्पसमा १५ वर्षदेखि स्ववियु चुनाव भएको छैन ।

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले चुनावको प्रचार थालेको छ । उसले घोषणपत्र पनि बनाइसकेको छ । तर, चुनाव नजिकिँदै गर्दा नेविसंघमा विवाद बढेको छ । दुई भिन्न समूहले समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् ।

नेविसंघको जस्तै अवस्था छ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको । विवादकै कारण दुई समूहले समानान्तर आ आफ्नै तरिकाले काम गरिरहेका छन् ।

स्ववियु चुनाव नजिकिँदै गर्दा एमालेनिकट अनेरास्ववियु भने २३औं महाधिवेशनको तयारीमा रहेको अध्यक्ष सुनीता बरालको भनाइ छ ।

प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव लामो समयपछि हुन लाग्दासमेत विद्यार्थी संगठनहरूलाई चुनावी मुद्दाले भन्दा आन्तरिक विवादले पिरोलेको छ । योसँगै चुनाव नै हुने हो वा होइन भन्ने आशंका पनि उत्तिकै छ ।

शैक्षिक तथा भौतिक विकासका लागि क्याम्पस प्रशासन र विद्यार्थीका बीचमा पुलको काम गर्ने प्रतिनिधिमूलक संस्था हो स्ववियु । तर पछिल्लो समय स्ववियु निर्वाचन र निर्वाचित हुने पदाधिकारीको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।