
काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ७६ जनालाई शनिबार नेपाल प्रहरीले पक्राउ गरेको छ ।
माइतीघरमा प्रदर्शनका लागि पुगेका जेन-जी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेन-जी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
यो समूहले दुई दिनयता प्रदर्शन गर्दै आएको थियो । जेन-जी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति माग्दा नपाएको बताउनुभएको छ ।