राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन कहिले ?

पुस २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन कहिले ?

काठमाडौं । संविधानको धारा ६३ ले राष्ट्रपतिको पदावधि पाँच वर्ष तोकेको छ । तर, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ ले पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । अब कानुनअनुसार निर्वाचन आयोगले माघ २९ भित्रै नयाँ राष्ट्रपतिको चुनाव गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदै छ । त्यसको एक महिनाअघि नै चुनाव गर्दा नयाँलाई कहिले शपथ खुवाउने भन्ने प्रस्ट व्यवस्था कानुनमा नभएको आयोगका अधिकारीहरुको तर्क छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि नै नयाँ निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संविधानले पाँच वर्ष पदावधि तोकेको भन्दै फागुनमा मात्रै चुनाव गर्ने आयोगले तयारी गरेको छ । उपराष्ट्रपतिको निर्वाचन भने राष्ट्रपति निर्वाचित भएको १५ दिनभित्र गरिसक्नुपर्ने निर्वाचन आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए ।

संविधानविद् विपिन अधिकारी भने राष्ट्रपति मुलुकको सर्वोच्च पद भएकाले पद खाली राख्नै नहुने र त्यसका लागि एक महिनाअघि नै नयाँ निर्वाचन गराउनुपर्ने बताउँछन् ।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्‌का ३३४ सदस्य र प्रदेशसभाका ५५० सदस्य मतदाता रहन्छन् । संघीय संसदका सदस्य संख्याले नेपालको पछिल्लो जनसंख्यालाई भाग गर्दा आउने भागफल संघीय संसद्‌को मतभार हुनेछ । प्रदेशतर्फका कुल सदस्य संख्याले नेपालको जनसंख्यालाई भाग गर्दा आउने भागफल प्रदेशतर्फको मतभार हुनेछ । तर तथ्यांक विभागले अहिलेसम्म जनगणनाको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छैन । प्रारम्भिक जनसंख्याअनुसार संघीय सांसदको मतभार ८५ र प्रदेश सभा सदस्यको मतभार ५३ हुने देखिएको छ । 

यसअघि २०७४ सालमा संघीय सांसदको मतभार ७९ थियो भने प्रदेशसभा सदस्यको ४८ थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement