काठमाडौं । रियाल भालाडोलिडमाथि ३-० को सहज जित हात पार्दै रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
रियालको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे । रियालबाट एम्बाप्पेको यो पहिलो ह्याट्रिक हो । इस्टाडियो होजे जोरिलामा फ्रान्सका कप्तान एम्बाप्पेले ३०औं मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । उनले जुड बेलिङ्घमको क्रसमा गोल गरेका हुन् ।
५७औं मिनेटमा एम्बाप्पेले रोड्रिगोको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरे । रियालको अग्रता बढाउन एम्बाप्पेले बटम करर्नरबाट सानदार फिनिस गरेका थिए ।
९०औं मिनेटमा मारियो मार्टिनले दोहोरो पहेँलो कार्ड बेहोरेपछि रियाल भालाडोलिड अतिरिक्त सयममा १० खेलाडीमा सीमित भएको थियो । मारियोले बेलिङ्घममाथि लापरबाहीपूर्ण ट्याकल गरेका थिए । मार्टिनको गल्तीका कारण रियालले पेनाल्टीको अवसर पाएको थियो । एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
यससँगै एम्बाप्पेले यस सिजनमा १५ लिग गोल पूरा गरे । जारी लिगमा उनी सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्कीले १६ गोल गरेका छन् ।
गए राति एट्लेटिको मड्रिडले भिल्ला रियालसँग १-१ गोलको बराबरी खेलेपछि रियाल मड्रिडले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको हो । रियालले २१ खेलमा १५ जितसहित ४९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिकोको समान खेलमा ४५ अंक छ । पराजित भालाडोलिड लिगको पुछारमा छ ।
अब कार्लो एन्सेलोटीको टोलीको ध्यान च्याम्पियन्स लिगमा केन्द्रित हुनेछ । रियालले बिहीबार ब्रेस्टको यात्रा गर्नेछ । च्याम्पियन्स लिगमा शीर्ष आठमा पुग्न रियाललाई जित आवश्यक छ ।