आज बालुवाटारमा सहमति नजुट्दा आउन सक्ने २ परिणाम : प्रधानमन्त्रीमा देउवालाई नियुक्ति वा म्याद थप

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
आज बालुवाटारमा सहमति नजुट्दा आउन सक्ने २ परिणाम : प्रधानमन्त्रीमा देउवालाई नियुक्ति वा म्याद थप

काठमाडौं । नयाँ सरकार गठनका लागि बहुमतको आधारसहित प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न राष्ट्रपतिले राजनीतिक दलहरुलाई दिएको समय आजै साँझ ५ बजे सकिँदैछ ।

तोकिएको समयमै प्रधानमन्त्रीको नाम बुझाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । यसका लागि तीन दिनदेखि बालुवाटारमा छलफल हुँदै आएको छ । आज पनि छलफल जारी छ । गठबन्धनको बैठकअघि नेपाली कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाइएको छ ।

गठबन्धन दलले साँझ ५ बजेसम्म राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्न सकेनन् भने त्यसपछिको राजनीतिक परिस्थिति कता जाला ? यो सबैका लागि चासोको विषय हो । गठबन्धनले बहुमतसहित प्रधानमन्त्री दाबी गर्न नसकेको अवस्थामा आउने परिस्थिति यस्तो देखिन्छ–

१. निर्वाचन आयोगले गत मंसिर २९ गते राष्ट्रपतिलाई निर्वाचनको अन्तिम परिणामसम्बन्धी प्रतिवेदन बुझाएको थियो । संविधानको धारा ७६ (२) अनुसारको मिलिजुली सरकार बनाउने म्याद सो मितिले एक महिनासम्म, अर्थात पुस मसान्तसम्म छ ।

संविधानले पुस मसान्तसम्म उपधारा २ मा जान मिल्ने ठाउँ दिए पनि राष्ट्रपतिले दलहरुलाई दिएको समय सीमा आज (पुस १०) मै सकिँदैछ । तथापि संविधान अनुसार उपधारा २ कै अभ्यासमा जान राष्ट्रपतिले अझै केही हप्ता दलहरुलाई समय दिन सक्ने ठाउँ छ । तर, यो कुरा राष्ट्रपतिको स्वविवेकमा भर पर्छ । राष्ट्रपतिबाट अझै केही दिन समय थप पनि हुन सक्छ वा आजै साँझ उपधारा ३ अनुसार ठूलो दलको संसदीय दलको नेता (शेरबहादुर देउवा) लाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना पनि छ । दुबै विकल्पमा जाने अधिकार राष्ट्रपतिमा निहीत छ ।

२. आजै गठबन्धन दलवीच सहमति जुट्यो भने पुष्पकमल दाहाल, माधवकुमार नेपाल वा शेरबहादुर देउवामध्ये कसैको नाम आउन सक्छ वा गठबन्धन टुट्यो भने एमाले वा अरु कसैको दाबी पर्न पनि सक्छ । तर, राष्ट्रपतिबाट उपधारा २ मै जान अझै केही दिनका लागि समय थप भयो भने अर्को गठबन्धन बनाउने कसरत हुन सक्ने देखिन्छ । आजै साँझसम्म दलहरुले बहुमतसहित दाबी प्रस्तुत गर्न सकेनन् र उपधारा ३ मा जाने हो भने राष्ट्रपतिले सो उपधारा अनुसार सरकार गठनको आह्वान गरिराख्नुपर्दैन, सोझै प्रधानमन्त्री नियुक्त गरे पुग्छ ।

त्यसैले, आजै दलहरुबीच सहमति भएन र उपधारा २ का लागिसमय पनि थपिएन भने आजै साँझ शेरबहादुर देउवा प्रधानमन्त्री बनेको खबर शीतलनिवासबाट आउन सक्छ । किनभने, संविधानको धारा ७६ (३) ले ठूलो दलको नेतालाई सोझै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न पाउने अधिकार दिएको छ । आज साँझसम्म हेरौं, बालुवाटारमा बसिरहेको गठबन्धनको बैठकले उपधारा २ अनुसारको मिलिजुली सरकार दिन्छ वा राष्ट्रपतिबाट म्याद थप हुन्छ वा उपधारा ३ अनुसार शेरबहादुर देउवालाई अल्पमतको प्रधानमन्त्री बनाउने बाटो खोल्छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement